स्वरुप फेर्दै तुलसीपुर बजार

डिसी नेपाल
१७ भदौ २०७६ ८:५८

दाङ । तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो। आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भर्याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको छ।

बजारमा पहिलेजस्तो जहाँ पायो त्यही होर्डिङ बोर्ड छैनन्, सडक मिचेर बनाइएका पर्खाल, भर्याङ, बरन्डा छैनन् । जसले गर्दा बजार सुन्दर देखिन्छ । पैदलयात्रीलाई पनि आवतजावतमा सहज भएको छ, भने गाडी आवतजावतमा पनि सहज भएको छ। यही अभियानले गर्दा आम तुलसीपुरवासीले पनि स्मार्टसिटीको आधार तयार भएको भन्दै प्रशांसा गर्ने गरेका छन् । यो कार्यप्रति आम तुलसीपुरवासीले सहयोग गर्ने गरेका छन् ।

“पहिले बजार कुरुप थियो, अव्यवस्थित थियो”, तुलसीपुर–६ निवासी टोपबहादुर महतारले भने, “तर अहिले बजार सुन्दर भएको छ।” तुलसीपुर उपमहानगरपालिकाले सम्बन्धित घरधनी तथा व्यवसायीले अटेर गरेपछि सडक मिचेर बनाइएका भर्याङ, बरण्डा, होेर्डिङबोर्ड आफैँले डोजर लगाएर हटाउन थालेको हो।

सडक मिचिएका संरचना हटाएपछि बजार सुन्दर बन्दै गएको वडा नं ५ निवासी उमा राजभण्डारीले बताए । यो अभियानलाई निरन्तरता दिने हो भने यस क्षेत्रका जनप्रतिनिधिले कल्पना गरेअनुसारका स्मार्टसिटी बन्ने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरु रावतले बताए ।

“यो सकारात्मक अभियानलाई निरन्तरता दिन सक्नुपर्छ”, उनले भने, “बजारको मुहार बदलिन्छ ।” उनले व्यवसायी तथा घरधनीलाई जानकारी गराएर मिचिएका सडकका संरचना हटाएपछि बजारको सुन्दरता नै बढेको बताए । यस्तै अभियानले तुलसीपुरलाई समृद्ध बनाउन मद्दत पुग्ने बताए ।

सो बजार व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढेको नगर प्रमुख घनश्याम पाण्डेको भनाइ छ। उनले बजारलाई व्यवस्थित र स्वच्छ बनाउन यो अभियानले मद्दत पुर्याएको बताए । यो अभियानले बजार सुन्दर हुनुका साथै विभिन्न घटना, दुर्घटना पनि न्यूनीकरण हुने उनको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *