निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण

डिसी नेपाल
१८ भदौ २०७६ ११:५९

बेनी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले तीन तले ९ कोठे भवन निर्माण गरेको हो। भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणको रु एक करोड ६४ लाख १४ हजारमा विसं २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो । १८ महीनामा सम्पन्न गर्ने सम्झौता भए पनि आठ महीना थप भएको थियो।

नयाँ भवनमा कार्यालय स्थापना गरेर सेवा प्रवाह शुरु गरेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । भवनमा कार्यालय प्रमुख, प्रशासन, लेखा, सहायता कक्ष, प्रविधि, तालीम हल, स्टोर, अतिथि गृह, आवास र सूचना प्रविधि कक्ष छन्।

निर्वाचन कार्यालय म्याग्दी स्थापना देखिनै भाडाको घरबाट सञ्चालन हुदै आएको थियो । सुबिधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाह सहज भएको निर्वाचन अधिकारी पौडेलले बताए।

यसैबीच म्याग्दीमा हालसम्म ८१ हजार ४७७ जनाको तस्बिर सहितको मतदाता नामावली संकलन भएको छ । २०७६ साल साउन सम्म ३९ हजार २६९ जना पुरुष, ४२ हजार १७७ जना महिला र एक जना तेस्रो लिङ्गीको तस्बिर सहितको मतदाता नामावली दर्ता भएको छ।

२०७४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३६ हजार १०२ पुरुष, ३९ हजार ४३५ महिला, एक जना तेस्रो लिङ्गीले नामावली दर्ता गराएका थिए।

आर्थिक वर्ष २०७५÷७६ मा तीन हजार १६७ जना पुरुष र दुई हजार ७४२ जना महिला गरि पाँच हजार ९०९ जना मतदाता थपिएका छन्। कार्यालय र जिल्ला प्रशासन कार्यालयमा १६ वर्ष उमेर पुगेका नागरिकको तस्बिर सहितको मतदाता नामावली दर्ता गरिदै आएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *