कश्मीरः पेलेट गन र अश्रृ ग्यासका कारण युवकले गुमाए ज्यान

डिसी नेपाल
२१ भदौ २०७६ १६:४७

नयाँ दिल्ली (बीबीसी) । १८ वर्षीय असरार अहमद खानको मेडिकल रिपोर्टले उनको मृत्यु पेलेट गन तथा अश्रृ ग्यासको शेलले लागेको चोटका कारण भएको देखाउँछ । यो रिपोर्ट शेर–ए–कश्मीर इन्स्टिट्युट अफ मेडिकल साइन्सेज (सिकम्स)ले जारी गरेको हो । यसमा असरारको मृत्युको कारण लेखिएको छ –पेलेट र शेल फुट्दा लागेको चोट र मष्तिस्कमा लागेको गम्भी चोट ।

असरार ६ अगस्टमा श्रीनगरको बाहिरि क्षेत्रमा घाइते भएका थिए । सेनाका जनरल अफिसर कमाण्डिङ केएसजे ढिल्लोले प्रहरी र सेनाको एक सँयुक्त पत्रकार सम्मेलनमा असरारलाई एक ढुंगाले चोट लागेको र त्यसकै कारण मृत्यु भएको बताएका थिए । तर, मेडिकल रिपोर्टका अनुसार असरार ६ अगस्टमा स्किम्समा भर्ना भएका थिए भने सेप्टेम्बर ३ राती आठ बजेर १५ मिनेटमा उनको मृत्यु भएको थियो । उनलाई स्किम्सको न्यूरो सर्जरी वार्डमा भर्ना गरिएको थियो ।

के भन्छन् परिवार

परिवारका सदस्यले बीबीसीलाई असरार क्रिकेट खेल्दै गर्दा पेलेट र अश्रु ग्यासको शेलले चोट लागेको बताए । असरारका बाबु फिरदौस अहमद खानले बीबीसीसँग भनेका छन्, ‘जब सुरक्षा बल फिर्ता भइरहेको थियो, उसले पेलेट गन र अश्रु ग्यास प्रहार गरेको थियो । असरारको टाउकोमा चोट लाग्यो । यसपछि हामीले उसलाई अस्पताल लग्यौं । उसलाई भेन्टिलेटरमा राखियो, किनकी उसको हालत नाजुक थियो । दुई हप्तापछि सामान्य वार्डमा राखियो तर, दुई दिनपछि फेरि भेन्टिलेटरमा राखियो । जहाँ उसले अन्तिम स्वास लियो ।’

उनले पुरा संसारलाई आफ्ना छोराको मृत्युको कारणबारेको प्रमाण देखाउन चाहेको बताए । जसमा पेलेट र अश्रु ग्यासका कारण उनको मृत्यु भएको उल्लेख छ ।

छानविन गर्न माग

शोकमा डुबेका असरारका बाबुले भने, ‘मेरो छोरा, ढुंगा प्रहार गर्ने व्यक्ति थिएन । तपाई उसको रेकर्ड हेर्न सक्नु हुन्छ । हामीले सबै दस्तावेज दिएका छौं । उ निकै राम्रो विद्यार्थी थियो । मेट्रिक परीषामा टप भएको थियो । उ डाक्टर बन्न चाहन्थ्यो । के अपराध थियो उसको ? मेरो छोरा ३० दिनसम्म अस्पतालमा थियो । सरकारकोतर्फबाट यो घटनाबारे सोध्नसमेत कोही आएन । किन सरकारले कुनै छानविन समिति बनाएन । छानविन हुनु पर्छ मेरो छोरा ढुंगा प्रहार गर्ने व्यक्ति थियो कि थिएन ।’ उनको आँखाबाट लगातार आँशु बगिरहेका थिए । उनी माग गर्छन्, ‘हामीलाई न्याय चाहियो । एक छानविन समिति बन्नु पर्छ । थाहा होस झुटो को छ ।’

सेनाको फरक दाबी

सेनाका जनरल अफिसर कमाण्डिङले पत्रकार सम्मेलनमा ५ अगस्टमा पाँचजना सर्वसाधारण नागरिकरको मृत्यु भएको र सबैको ‘हत्या आतंकवादी ढुंगाप्रहार गर्ने’ले गरेको बताएका थिए । ५ अगसटमा भारतले जम्मू कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै सोही दिनदेखि उपत्यकामा प्रतिबन्ध लगाएको थियो । अझै पनि केही स्थानमा पसल र विद्यालय बन्द छन् । सडकमा यातायातका साधन थोरैमात्र चलेका छन् । मोबाइल र इन्टरनेट सेवा पनि प्रतिबन्धित छ ।

असरारका साथीले त्यो दिनको घटना सम्झे । उनले भने, ‘बेलुका ७ बजेको समय थियो होला । सुरक्षाबल आफ्नो शिविरमा फिर्ता जाँदै थियो । त्यही समयमा हाम्रो क्षेत्रबाट ठूलो आवाज आयो । झडप शुरु भयो । सबै भाग्न थाले । असरार मसँगै थियो । सबै सुरक्षित सथानतर्फ भाग्न थाले, हामी पनि भाग्यौं ।’

उनी भन्छन्, ‘अचानक अश्रृ ग्यास प्रहार भएको आवाज आयो । एक शेल असरारको टाउकोमा लाग्यो । त्यतिबेला पेलेट पनि उसको टाउकोमा लाग्यो । आवाज सुनियो – मलाई उठाउ, मेरो टाउकोमा केही लाग्यो । जब मैले उसलाई देखे उ रगतमा भिजेको थियो । मैले आफ्नो कमिज खोलेर उसको टाउकोमा बाँधे । यसैबीच एक साथीले उसलाई अस्पताल लग्यो ।’

उता जम्मू कश्मीर प्रहरीका एडीजी मुनीर खानले असरार खानको मेडिकल रिपोर्ट स्ष्पष्ट नभएको बताए । उनले भने, ‘मैले असरार खानको प्रारम्भिक रिपोर्ट हेरेको छु, यसमा स्पष्ट छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *