कृष्ण काफ्ले : ‘तितो सत्य’देखि चर्चित गायकसम्म

डिसी नेपाल
२४ भदौ २०७६ १२:२३

काठमाडौं। ५/६ कक्षामा पढ्दा हुन्। रेडियो, टेलिभिजनमा बज्ने गीतले कृष्ण काफ्लेलाई संगीतप्रति आकर्षित गरिसकेको थियो। स्कूलका साथिभाई तथा छिमेकीमाझ गीत गुनगुनाउँथे। सुन्नेहरु भन्थे, –तिमी राम्रो गाउँछौं। पछि गएर गायक बन्नुपर्छ।

आज संगीत क्षेत्रमा कृष्णको छुट्टै स्थान छ। हिजो गाउँघरको माया पाएका कृष्णका लागि आज देश–विदेशका सांगीतिक कार्यक्रमबाट डिमान्ड बढिरहेको छ।

सानो मासमा गुञ्जिने कृष्ण हजारौंमाझ गुञ्जिएका छन्। उनका गीत लाखौं/करोडौंले हेरेका/सुनेका छन्।

चलचित्र ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’लाई युट्युबमा ४ करोड बढी पटक हेरिएको छ। ‘छक्का पञ्जा’को ‘देख न चम्पा सुनन चम्पा’होस् वा ‘किस्मत २’को ‘तिम्रो पिक्चर हिट’ होस्। स्रोता दर्शकले अत्याधिक रुचाएका छन्।

सानैदेखि सुरिलो स्वरका धनि। विद्यालय, टोलछिमेकमा गीत गुनगुनाउँदा शिक्षक, साथिभाई तथा छिमेकीहरुले हौस्याउँथे। तर, संगीत क्षेत्रमा चिनेजानेको कोही नभएका कारण परिवारको सपोर्ट भने त्यत्ति थिएन्। उनी भन्छन्, –‘शिक्षाक, साथिभाई र छिमेकीहरुको हौसलाले नै मलाई संगीत क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो।’

स्याङजा पुर्खैली घर भएका कृष्णको परिवार नवलपरासी बसाइ सर्यो। कृष्णले त्यही आफ्नो बाल्यकाल बिताए।

नवलपरासीमा हिन्दी गीत बढी बज्थ्यो। उनी हिन्दी गीत सुन्थे, गुनगुनाउँथे। विस्तारै नेपाली गीतहरु सुन्न थाले, संगै गुनगुनाउँन पनि।
‘गीतहरु सुन्दै त्यसलाई डिटो गाउने कोशिस गर्थे। उता कार्यक्रममा पनि साथीहरुले गीत गाउन मलाई अगाडी सार्थे। रेडियो प्रतियोगीताहरुमा पनि भाग लिन थालेँ’–कृष्ण बाल्यकालमा आफ्नो संगीतप्रतिको लगावबारे फेहरिस्त लगाउँछन्।

स्कूल लेभलमा नवलपरासी आइडलमा भाग लिए, दोस्रो भए। त्यहाँबाट पनि गायनमा केही गर्छु भन्ने आँट बढेको सुनाउँछन्।

‘तितो सत्य’मा झुर्लुक्क देखिँदा गाउँमा छुट्टै चर्चा
१३–१४ वर्ष अगाडी। जतिबेला कृष्णले एलएलसी दिएका थिए। काठमाडौं आएर संगीतलाई अगाडी बढाउने ढोका खुलेको थियो। तर, यहाँ आएर बसिहाल्न सकेनन्। आउजाउ भने गरिरहन्थे।

त्यतिबेला हाँस्य टेलिसिरियल ‘तितो सत्य’ चर्चामा थियो। कलाकार निर्मल शर्मासंग राम्रै चिनजान बनाएका थिए। निर्मललाई प्रस्ताव राखे, – म पनि खेल्छु न ! चान्स पाइहाले कृष्णले ।

‘तितो सत्य’मा झुर्लुक्क देखिने मौका पाए। गाउँमा ‘तितो सत्य’मा खेलेर आएको भनेर छुट्टै चर्चा हुन्थ्यो। उनले ‘तितो सत्य’को केही एपिसोटमा देखिने मौका पाए। त्यहीबाट दीपकराज गिरी, दीपाश्री निरौला लगायतका कलाकारसंग पनि कृष्णको सम्बन्ध बढ्यो।

आँशुमा डुबाउन्न भन्थ्यौं…
जिल्लामा भन्दा गायक बन्न काठमाडौं नै जानुपर्छ। उनले सोँचे, र २०६४ सालदेखि काठमाडौंलाई कर्मथलो बनाए। सांगीतिक संघर्षका दिन शुरु गरे। शुरुमा इन्ट्रिच्युटमा संगीत सिके। संगै काम पनि गर्न थाले।

तर, कुनै स्टुडियो छिर्दा रमाउने, २/४ जनामाझ संगीतका कुरा गर्दा हराउने कृष्णलाई जागिरले बाधा पुर्याएजस्तो भयो। ‘जागिर गरिरहँदा सांगीतिक माहोलबाट टाढा भएझैं हुन्थ्यो । मैले संगीतलाई नै बढी समय दिनुपर्छ भन्ने लागेर जागिर छाडेँ’– उनी भन्छन्।

उनले श्री संगीत पाठशालामा संगीत गुरु चण्डिप्रसाद काफ्लेसंग संगीत सिके। जहाँ उनी अहिले पनि संगीत सिकिरहेका छन्।

२०६५ सालमा पहिलो गीत ल्याए, कृष्णले । गीत थियो, –आँशुमा डुबाउन्न भन्थ्यौं। सबैबाट राम्रो प्रतिक्रिया पाए। जसले अगाडि बढन उर्जा मिल्यो। उनी गीत लेख्ने तथा संगीत पनि भर्थे। दोस्रो गीत स्वरुप आफ्नो शब्द/संगीतमा मनोजराजले गाए, –‘चोट दिने माया…’। सांगीतिक क्षेत्रमा कृष्णको क्रमश खोजी हुँदै गयो। सिआरबिटी, पिआरविटीको समय थियो। उनका गीतहरु टेलिभिजनमा प्रोमो बज्न थाले।

२०६७ सालतिर उनले गाएको चलचित्रको गीत आयो, –‘दबाब’को ‘तिम्रो पावरफूल वैशको झड्काले’। एल्बमका गीत पनि लोकप्रिय हुन् थाले। यो जुनीमा तिम्रो मान्छे बन्न पाइन, तिमीलाई आफ्नो बनाउने लगायतका गीतको सिआरबिटी/पिआरबिटी राम्रो भयो। त्यसपछि ‘लव यु वावा’को टाइटल गीतले पनि कृष्णलाई फाइदा पु¥यायो।

‘छक्का पञ्जा’को त्यो गीत
कृष्णले १ सय ५० बढी गीत गाईसकेको थिए। उनको गायन रहेका एक दर्जन बढी चलचित्र आईसकेका थिए। तर, ‘छक्का पञ्जा’को ‘देख न चम्पा सुनन चम्पा’गीतले उनको चर्चालाई थप उचाइमा पुर्यायो।

दीपक–दीपासंगको चिनजान पहिल्यदेखिकै थियो। उनीहरुको ‘वडा नम्बर ६’मा पनि कृष्णले गीत गाउने पक्कापक्की थियो। तर, अन्तिममा अर्कै गीत राखियो।
पछि ‘छक्का पञ्जा’को तयारीमा रहेका दीपक–दीपालाई कृष्णले आफै फोन गरेर आफूसंग एउटा फरक खालको गीत रहेकोले सुन्न आउन बोलाएका थिए।

उनी सुनाउँछन्, –‘त्यो गीत ३/४ वटा चलचित्रमा रिजेक्ट भईसकेको थियो। उहाँहरुलाई सुनाउँदा खुःसी हुनुभयो।’

चलचित्र अत्याधिक चल्यो। शान्तीप्रियको शब्द, दीपक शर्माको संगीत, कृष्णको स्वर रहेको गीतलाई पनि स्रोता÷दर्शकले अत्याधिक रुचाए। ‘त्यो गीत पूर्वदेखि पश्चिमसम्म नै मन पराउनुभएको छ। म कार्यक्रमको शिलशिलामा जहाँ गएपनि गाउन आग्रह आएकै हुन्छ’– गीतको लोकप्रियताबारे डिसी नेपालसंग भन्छन्।

त्यसयता ‘किम्मत २’को ‘तिम्रो पिक्चर हिट’, ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’ लगायतका गीत दर्शकले अत्याधिक रुचाए।  अहिले प्रदर्शनरत ‘मारुनी’को ‘हाने मैले झटारो’बोलको गीतमा कृष्णको शब्द, संगीत तथा स्वर छ। संगीत क्षेत्रबाटै कृष्णले दुई दर्जन बढी देश पुगिसकेका छन्। थुप्रै राष्ट्रिय अवार्ड जितेका छन्। शुभचिन्तक बढिरहेका छन्। सांगीतिक ब्यस्तता उत्तिकै बढदो छ।

शुरुवाती दिनमा संगीत क्षेत्रमा लाग्दा सन्तुष्ट नदेखिएको परिवार आज छोराको उपलब्धिबाट सन्तुष्ट छ। ‘अहिले मैले संगीत क्षेत्रबाट पाएको उपलब्धिले परिवारका सबै सन्तुष्ट हुनुहुन्छ। सबैले अत्यन्तै सपोर्ट गर्नुहुन्छ’–उनी सुनाउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *