कांग्रेसको जागरण अभियान : संगठन सुदृढिकरण की महाधिवेशनको प्रचार ?

डिसी नेपाल
२५ भदौ २०७६ ८:०६

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संगठन सुदृढिकरण र सरकारको गलत कामको खबरदारी गर्ने भन्दै मंगरबारबाट जागरण अभियान सुरु गरेको छ। असोज सातमा सम्पन्न हुने जागरण अभियानमा कांग्रेसले मुख्य रुपमा संगठन सुदृढिकरण र सरकारको गलत कामको खबरदारी गर्ने लक्ष्य लिएको छ।

कांग्रेसले देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकसाथ ‘हिमाल–पहाड–तराई–मधेस (हिपतम) जागरण’ नाममा दोस्रो चरणको अभियान सुरु गरेको हो।

गत निर्वाचनमा नराम्रोसँग पराजित भएपछि कांग्रेसले जनता र कार्यकर्तासँग प्रत्यक्ष रुपमा जोडिने गरी कार्यक्रम तय गरेको थियो। यस अघि कांग्रेसले पहिलो चरणको जागरण अभियान सम्पन्न गरिसकेको छ।

मुख्य रुपमा संगठन सुदृढिकरण र सरकारका गलत कामको खबरदारी गर्ने लक्ष्य लिइएपनि नेताले मञ्चको उपयोग आफ्नै पार्टीका नेताको विरोधमा गरेको भन्दै पहिलो चरणको जागरण अभियानमा तीव्र विरोध भएको थयो।

विशेष गरी सभापति शेरबहादुर देउवाले पार्टीलाई सामुहिक रुपमा हाँक्न नसकेको, आफ्ना नजिकका मानिसलाई मात्र जिम्मेवारी दिएको र कांग्रेसलाई गुटमा परिणत गरेको भन्दै पहिलो चरणको जागरण अभियानमा संस्थापन इतर पक्षका नेताहरुले विरोध जनाउने गरेका थिए। त्यसमा पूर्व महामन्त्री कृष्ण सिटौला र नेता डा. शेखर कोइराला अग्रपक्तिमा थिए।

दोस्रो चरणको जागरण अभियान पनि पहिलो चरणको जस्तै हुने भएपनि नेताहरुको विरोध नहोस भनेर केही सजकता भने अपनाइएको छ।दोस्रो चरणको जागरण अभियानमा एक मिनेटभित्र आशन ग्रहण गरिसक्ने, केजीमा तौलिने माला र ब्याजरहित हुने, व्यक्तको संख्या सीमित हुने नीति अपनाइएको छ।

जागरण अभियानका क्रममा नेताहरुले अगामी महाधिवेशनलाई लक्षित गरेर आफ्नो प्रचार गर्ने थलो बनाएपछि दोस्रो चरणको जागरण अभियानमा सजकता अपनाइएको छ।

कांग्रेसमा वर्तमान कार्यसमितिको म्याद आगामी फागुनमा सकिँदैछ। यद्यपी विधानमा ६/६ महिना गरी एक वर्ष कार्यकाल थप गर्ने व्यवस्था छ। संस्थापन पक्ष विधानमा भएको व्यवस्था अनुसार थप एक वर्ष कार्यकाल थप गर्ने पक्षमा छ भने संस्थापन इतर पक्ष भने जसरी पनि फागुनमै महाधिवेशन हुनुपर्ने पक्षमा छ।

महाधिवेशनलाई मध्यनजर गर्दै नेताहरुले आफू अनुकुल प्रचार नगरुन भनेर अभियानको क्रममा केन्द्रीय तहबाट एउटा मात्रै सभा निर्धारण गरिएको छ।

जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्नेभन्दा सुन्ने विषयलाई कांग्रेसले विशेष प्राथमिकतामा राखेको छ।
कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा जागरण अभियानमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। केन्द्रीय प्रतिनिधिहरूमा अधिकांश प्रदेशसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार, पार्टीका पूर्वसभापति र पूर्वसांसद छन्।

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षा लगायतका कार्यक्रम तय गरेको छ।

कांग्रेसले दोस्रो चरणको जागरण अभियानका क्रममा देशभर एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखेको छ। अभियानको समापनका दिन कांग्रेसले बढ्दो महँगी, वाइड बडी, न्यारो बडी प्रकरण लगायतका भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयकहरू र सरकारको सम्पूर्ण कुशासनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने जनाएको छ।

अभियानको अन्तिम दिन असोज ७ गते कांग्रेसले ७७ वटै जिल्लामा विभिन्न पाँचवटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसले जनाएको छ। यसअघि, कांग्रेसले वैशाख २५ गतेदेखि ७७ वटै जिल्लामा पहिलो चरणको एकमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *