गाउँमा बिजुली पुग्दा खुशियाली

डिसी नेपाल
२५ भदौ २०७६ १२:०४

कावासोती । पहिलोपटक राष्ट्रिय प्रसारणको विद्युत् पुग्दा नवलपुरको पहाडी क्षेत्र द्वारीका स्थानीयवासी खुशी भएका छन् । नगरपालिकाकै वडा भए पनि अझैसम्म विद्युत् नपुग्दा यहाँका स्थानीयवासी टुकीको भरमा बस्नुपर्ने बाध्यता रहेको थियो । मध्यबिन्दु नगरपालिका–१४ मा पर्ने द्वारीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् पहिलोपटक पुगेको हो । पहिलोपटक गाउँमा बिजुली आएको अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका थिए ।

“विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौँ”, द्वारीका खेमबहादुर सुनारले भने, “बिजुली बलेपछि गाउँनै झलमल भएको छ, सबैमा खुशियाली छाएको छ ।” बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने सुनारले बताए । विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उनको भनाइ थियो ।

द्वारी, सारुडाँडा, डम्फघेरालगायतका गाउँका १२० घर विद्युत् सेवाबाट लाभान्वित भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारको गरेर रु ९५ लाखको लागतमा यस क्षेत्रमा विद्युतीकरण गरिएको मध्यबिन्दु नगरपालिका–१४ का वडाध्यक्ष मीनबहादुर दर्लामी मगरले बताए ।

मध्यबिन्दु–१४ अन्तर्गत पर्ने साविक मैनाघाट गाविसको भेडाबारी, पोखरडाँडा, छप्रादीका १५० घरमा आर्थिक वर्ष २०७४/७५ मा बिजुली बाल्न सफल भएको भए पनि, साविक राकाँचुली गाविसको द्वारी, सारुडाँडा र डम्फघेरामा लामो समयको प्रयासपछि विद्युतीकरण गर्न सफल भएको वडाध्यक्ष मगरले बताए ।

गण्डकी प्रदेश सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ भन्ने नीतिअनुरूप अहिले नवलपुरका पहाडी क्षेत्रमा विद्युतीकरणको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख राजीवकुमार शर्माले बताए ।

नवलपुरका पहाडी क्षेत्रअन्तर्गत बुलिङटार गाउँपालिकामा अझै विद्युत् पुग्न सकेको छैन । यस्तै पहाडी क्षेत्रका धेरै बस्तीमा समेत विद्युत् पुग्न बाँकी रहेको छ । सबै क्षेत्रमा विद्युत् पु¥याउने गरी अहिले कार्य सञ्चालन भइरहेको प्रमुख शर्माले बताए ।

पहाडी क्षेत्रमा विद्युतीकरणका लागि बोझापोखरीमा निर्माण गर्न लागिएको सवस्टेशन निर्माणको काम लामो समयसम्म स्थगित भएकामा अहिले यसको निर्माणको कामसमेत धमाधम चलिरहेको उहाँले बताए। चाँडै सवस्टेशन निर्माणको काम सकेर जिल्लाका पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने योजना रहेको प्रमुख शर्माले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *