शुरु भयो पूर्वाधार सम्मेलन

डिसी नेपाल
२५ भदौ २०७६ २२:०८

काठमाडौं। नेपाल पूर्वाधार सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार राजधानी काठमाडौंमा उद्घाटन गरेका छन्।

नेपाल उद्योग परिसङ्घले आयोजना गरेको दुई दिने सम्मेलनमा स्वदेशी र विदेशी गरी ५०० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलनमा विकास साझेदार संस्थाका प्रमुख एवं उपप्रमुखको सहभागिता छ । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालमा लगानीको वातावरण बनेकाले ढुक्क भएर काम गर्न आह्वान गरे।

कार्यक्रममा सभामुख कृष्णबहादुर महराले पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए। नेपालकै स्रोतले नभ्याउने भएकाले विदेशी लगानीकर्ताको समेत सहयोग लिन वातावरण गरिने उनको भनाई थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै भावना र भावुकतामा कुनै पनि योजना अघि नबढाइएको उल्लेख गरे। सरकार लगानीकर्ताको साथमै हुने उनको प्रतिबद्धता थियो ।

गणतन्त्र कोरियाका पूर्व प्रधानमन्त्री डा हान सेउङ सूले पूर्वाधार विकासमा विभिन्न देशका अनुभव आदानप्रदान गर्न सम्मेलन सहयोगी सिद्ध हुने बताए। भारतका नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहले मुख्य संरचना निर्माणका लागि पूर्वाधारमै जोड दिनुपर्ने बताए।

सांसद विनोद चौधरीले विभिन्न समस्याका बाबजुद नेपालमा ८० प्रतिशत निजी क्षेत्रको लगानी रहेको बताए ।

कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशं– ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आ–आफ्ना प्रदेशमा भइरहेका पूर्वाधार विकासका कामको जानकारी गराउँदै ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए।

विश्व बैंकका उपाध्यक्ष जिङदोङ हुआले सगरमाथा र बुद्ध जन्मिएको देशमा पूर्वाधार विकास निर्माणको राम्रा सोच आउने विश्वास व्यक्त गरे। एशियाली विकास बैंकका महासचिव ऊचोङ उम्ले मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण जस्ता पूर्वाधारमा ऋण सहयोग गरेको उल्लेख गर्दैै सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा परिसङ्घका पूर्व अध्यक्ष हरिभक्त शर्मा र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकास एवं समृद्धिको नारा पूरा गर्ने माध्यम भएकाले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन सफलताको कामना गर्दै पठाएको सन्देश उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले वाचन गरेर सुनाएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *