पूर्वाधार सम्मेलनमा युवा उद्यमीको ‘आइडिया हण्ट’, कर्णालीमा यातायातदेखि चुरेमा स्याउ उत्पादनसम्म

डिसी नेपाल
२६ भदौ २०७६ २०:५७

काठमाडौं। कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीले बताएका छन् । बुधबारदेखि काठमाडौँमा सञ्चालन भइरहेको ‘नेपाल पूर्वाधार सम्मेलन–२०१९’ अन्तर्गत बिहीबार आयोजना गरिएको ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमी लगानीको सम्भावना र क्षेत्र औँल्याएका हुन् ।

युवा उद्यमीले विभिन्न पाँच वटा नवीनतम विधामा आफ्ना नमूना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पीपीपीमा लगानी गर्न सकिने बताएका हुन् ।

कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताए। उनले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि रु २४ अर्ब नौ करोड तत्काल लगानी गर्न सकिने उल्लेख गरे।

कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उनको सुझाव छ ।

‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनीयरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पुर्याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताए।

नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक रु सात अर्बको स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन यसले सघाउने उनको भनाइ छ । ‘बायो इञ्जिनीयरिङ’को रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उनले यस अध्ययनले विजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्ति पनि लगानीका लागि आउन सक्ने बताए।

युनाइटेड वल्र्ड स्कूल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकाले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गरे। प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्याङ्क संयोजनमा सहयोग पुग्ने उनको भनार्इ थियो ।

स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समय र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गरेका छन्। प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार उनले प्रस्तुत गरे। उनले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताए।
टीम आवास’की विधिमण्डलले नेपालका प्रमुख शहरहरुमा प्लाष्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लाष्टिक र ४० प्रतिशत बालुवा र अन्य मिश्रण प्रयोग गरी इँटा बनाउन सकिने योजना प्रस्तुत गरे। उनले अहिले परीक्षणको रुपमा इँटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी दिए।

‘टीम आगमन’की संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडक निर्माण गर्दा जमीन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गरिन्। उनले सिमेन्ट, ढुङ्गा प्रयोग गर्दा जमीनलाई थप भार पार्ने भएकाले केमिकल प्रयोग उपयुक्त हुने बताइन्।

‘स्मार्ट घर समूह’की श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने बताइ्। उनले स्मार्ट घरले मोबाइल एपको विकास गरेकाले न्यूनतम रु ६० हजारको लगानीबाट यो सुविधा लिन सक्ने बताइन्। यो एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ती, पानीको ट्याङ्की पनि बन्द गर्न बिर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उनको भनाइ छ ।

इनर्जी एक्सका सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादनसम्बन्धी विषय प्रस्तुत गरे। बायोग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पिक ऊर्जा उत्पादन गर्न सकिने बताए।

कार्यक्रममा युवा उद्यमीले विभिन्न विधामा पिपिपीलगायत अवधारणामा आधारित १० वटा प्रस्तुति दिएका थिए । प्रस्तुत अवधारणा (आइडिया हण्ट) मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसङ्घले पुरस्कृत गर्ने भएको छ । प्रथम हुनेले रु एक लाख ५० हजार, द्धितीयले रु एक लाख र तेस्रो हुनेले रु ५० हजार पाउने भएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *