पूर्ण संस्थागत सुत्केरीलाई जोड दिँदै स्थानीय सरकार

डिसी नेपाल
२७ भदौ २०७६ ८:२७

बेझाड। घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएका छन्।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएका हुन्। मुलुकमा ७० प्रतिशतको हाराहारीमा संस्थागत सुत्केरी हुने दर रहेपनि पाल्पा जिल्लामा भने हाल ९० प्रतिशत रहेको पाइएको छ।

जिल्लाका पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका केही वडा पूर्ण संस्थागत वडा घोषणा भइसकेका छन्। गत आर्थिक वर्षमा जिल्लामै पहिलो पटक माथागढी गाउँपालिका–३ को कसेनीलाई पूर्ण संस्थागत सुत्केरी वडाका रूपमा घोषणा गरिएको थियो।

त्यस्तै बगनासकाली गाउँपालिकाको–२ पोखराथोक, पूर्वखोला गाउँपालिकाको ३, ५ र ६ वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। पूर्वखोलाका वडा नं १, २, ४ लाई पनि कात्तिक मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक मोहन ढकालले बताए।

उनका अनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमका लागि गाउँपालिकाले प्रति वडा २५ हजार रकम उपलब्ध गराएको छ। गत आर्थिक वर्षमा वडा नं १ मा सिलुवा स्वास्थ्य चौकीमा ४२, वडा नं २ को जल्पा स्वास्थ्य चौकीमा २०, वडा नं ३ को रिङ्नेरह स्वास्थ्य चौकीमा २५, वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीमा १४ जनाले बच्चा जन्माएका छन्।
त्यस्तै वडा नं ५ को बिरकोट स्वास्थ्य चौकीमा ४१ र वडा नं ६ को हेक्लाङ्ग स्वास्थ्य चौकीबाट २७ जनाले प्रसूति सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक ढकालले जानकारी दिएका छन्। घरमै सुत्केरी हुने दरलाई शून्यमा पु–याउने लक्ष्य र सुत्केरी आमा र शिशुको ज्यान अकालमै नजाओस् भनेर स्वास्थ्य स्वास्थ्यमा नै पुगेर सेवा लिनका लागि सुत्केरी र उनका सहयोगीलाई खानाको व्यवस्था गाउँपालिकाले नै गरेको उनले बताएका छन्।
पूर्वखोला गाउँपालिकाले सुत्केरी र उनका सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरेपछि संस्थागत सुत्केरी बढेको पाइएको छ। गाउँपालिकाभित्र घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउन र स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन आकर्षित गराउन सुत्केरी र उनका सहयोगीलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो।

संस्थागत सुत्केरी बढाउन गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने र उनका सहयोगीलाई खानाको व्यवस्था गरिएको छ। आव २०७५र७६ देखि नै गाउँपालिकाले शुरु गरेको यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
स्वास्थ्य सेवा सहजरूपमा प्रवाह गर्न वडा नं १ को तामाखानी, २ को साठीकोल र ५ को भोर्से भन्ने स्थानमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र सञ्चालनमा आएको छ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुत्केरी हुन जानेलाई प्रोत्साहन स्वरुप रु ६०० रकम र चार पटकसम्म नियमित गर्भ परीक्षण गराउनेलाई एक क्यारेट अण्डा वितरण गर्दै आएको छ। गत आवमा एक जनाले मात्र घरमै बच्चा जन्माएको पाइएको छ। गाउँपालिकाले शून्य ‘होम डेलीभरी’ गाउँपालिका बनाउने योजनाका साथ अगाडि बढेको छ।

रम्भा गाउँपालिकाले पनि सबै वडालाई एकैसाथ पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारी गरेको छ। रामपुर नगरपालिकाले दशवटै वडामा तथ्याङ्क सङ्कलन, छलफल कार्यक्रम अगाडि बढाएको स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद पंगेनीले बताए।

जिल्लामा आव २०७५र७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन्। जसअन्र्तगत रामपुर नगरपालिकामा २५२, तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन्।

गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ रहेका छन्। जिल्लाका ३७ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भए पनि ३६ स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउछन्। तर मिशन अस्पताल पाल्पामा भने आमा सुरक्षा कार्यक्रम लागु नभएपनि प्रसूति सेवा उपलब्ध छ।

“पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हुँदै गएको छ, कार्यालयले यसमा विशेष चासोको रूपमा हेरेको र जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनि सुधार भएको छ” ज्ञवालीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *