महिला आसरा सुधार केन्द्र तिलगंगाको उद्घाटन
काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीकी अध्यक्ष प्रमिला खनालले उक्त केन्द्रको शाखा महिला आसरा सुधार केन्द्र तिलगंगाको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे।
सो अवसरमा केन्द्रकी अध्यक्ष खनालले महिला आसरा सुधार केन्द्रको स्थापनामा सहयोग पुर्यााउने आसरा सुधार केन्द्रकी पूर्व अध्यक्ष शान्ता राणा, नेपाल प्रहरी श्रीमती संघ, प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखा नक्साल र केन्द्रका पदाधिकारीहरूलाई प्रशंसापत्र, कदरपत्र तथा मायाको चिनो प्रदान गरे।
कार्यक्रममा केन्द्रकी अध्यक्ष खनालले विगतमा पुरुष तथा युवाहरुमा सीमित रहेको दुर्व्यसन समयसँगै महिला तथा युवतीहरुमा समेत फैलिएर व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत समेतलाई आक्रान्त बनाएको चर्चा गर्दै लागूऔषध दुरुपयोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम तथा चेतनामूलक कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।
यस्ता समस्या समाधान गर्न कानून व्यवसायी र न्यायिक प्रयासको साथसाथै सुधार तथा उपचारको प्रयास हुनुपर्नेमा उनले जोड दिए।
आसरा सुधार केन्द्रकी सचिव महिमा शाहले सो केन्द्रको परिचय तथा स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष अर्चाना बस्नेतले महिला सुधार केन्द्रको भवन निर्माण मर्मत संम्भार तथा संचालन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको थियो।
कार्यक्रममा आसरा सुधार केन्द्रकी पूर्व अध्यक्ष शान्ता राणा, काठमाडौं महानगरपालिका ८ की प्रतिनिधि ईन्दिरा भण्डारी, सामुदायिक सेवा केन्द्र चावहिलका अध्यक्ष उद्ववप्रसाद बडाल, केन्द्रका सल्लाहकार पूर्व स्वस्थ्य सचिव डा. निराकरमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रहरी वरिष्ठ अधिकृतहरु, उक्त केन्द्रका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।
Facebook Comment