संसदीय टोलीद्वारा म्याग्दी कारागारको अनुगमन

डिसी नेपाल
३० भदौ २०७६ ९:५०

पोखरा । गण्डकी प्रदेशको संसदीय टोलीले बेनी नगरपालिका–२ खबरास्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ। २५ पुरुष र सात महिला गरी कूल ३२ जनाको क्षमता रहेको म्याग्दी कारागारमा हाल ९३ पुरुष र सात महिला गरी १०० कैदीबन्दी रहेका छन् ।

प्रदेश मामिला समितिका दीपक थापाको संयोजकत्वमा आइतबार चिन्ताबहादुर घले, विनोद केसी र कोपिल बोहोराको टोलीले कारागारको भौतिक अवस्था अनुगमन गरी त्यहाँको समस्या तथा वस्तुस्थितिको बारेमा जानकारी लिएको हो।

अनुगमन टोलीसँग कैदीबन्दीले भौतिक पूर्वाधारको कमी, शौचालयमा पालो पर्खनुपर्ने र खानेपानीको नियमित आपूर्ति नहुने समस्या रहेको बताएका थिए।

व्यवस्थित खेलमैदान र खेल सामग्रीको आवश्यकता, कैदीबन्दीले तयार पारेका मुढा, फर्निचर र हस्तकलाका सामानको बजारीकरणको समस्याका बारेमा कैदीबन्दी कमल पुर्जाले अनुगमन टोलीलाई जानकारी गराउनुभएको म्याग्दी कारागारका प्रमुख रोजेन्द्र शर्माले जानकारी दिए।

कैदीबन्दीले निःशुल्क कानूनी सहायताअन्तर्गत वैतनिक वकिलको सुविधा नपाएको समेत गुनासो गरेका थिए। कागारारका प्रमुख शर्माले प्रशासनिक भवनको अभाव भएको र कारागार भवनको मर्मत तथा क्षमता विस्तारको आवश्यकता रहेको बताए।

संसदीय टोलीका संयोजक थापाले प्रदेशका ११ वटै कारागारको स्थलगत निरीक्षण गरी सरकारलाई सुझाव दिइने बताए। कारागारमा पछिल्लो समय लागुऔषध, जर्बजस्ती करणी र ज्यान मार्ने उद्योगका कैदी र बन्दीको चाप बढेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *