ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक, पर्यटनमन्त्रीले नै प्रहरीबाट छुटाएका थिए
काठमाडौं। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक लगाइएको छ । पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका शाहीलाई प्रहरीले आजै पर्यटनमन्त्रीकै आग्रहमा मुद्दा नचलाइ छाडेको थियो । उनलाई गल्ती सुधार्ने शर्तमा मुद्दा नचलाइ रिहा गरिएको प्रहरीले जानकारी दिएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन कास्की जिल्ला राष्ट्रिय युवा संघले शाहीलाई कास्की प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । तत्कालीन माओवादी अन्तरगतको वाईसीएल र एमाले अन्तरगतको युवासंघका अध्यक्षहरु भोजराज पौडेल र डिल्लीराम सुवेदीले संयुक्तरुपमा हस्ताक्षर गरेर शाहीलाई कास्की प्रवेशमा रोक लगाउने निर्णय गरेको विज्ञप्ती जारी गरेका हुन् ।
विज्ञप्तिमा ‘गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाहीजस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिनु भई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ’ लेखिएको छ । स्मरण रहोस् शाहीमाथि राजावादीको आरोप लाग्ने गरेको छ ।
Facebook Comment