९ रणनीतिक प्रसारण लाइन चालू आवमा सक्ने लक्ष्य

डिसी नेपाल
३० भदौ २०७६ १६:०९

रमेश लम्साल
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ। निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनका लागि महत्वपूर्ण मानिएका ती आयोजनाको कामको गति युद्धस्तरमा अगाडि बढेको जानकारी दिँदै प्राधिकरणले ऊर्जा क्षेत्रले थप सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ।

रुग्ण आयोजना निर्माण सम्पन्न गरेपछि प्रसारण लाइनको निर्माण, विस्तार, संस्थागत सुशासन र विद्युत् चुहावट नियन्त्रणमा लागेको तथ्य पेश गर्दै प्राधिकरणले चालू आर्थिक वर्षमा थप हुने विद्युत्को व्यवस्थापनका लागि योजनाबद्ध तवरले लागिपरेको जनाएको छ।

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू आवमा सम्पन्न हुने प्रसारण लाइनमा सिङ्गटी–लामो साँघु प्रसारण लाइन रहेको छ। कूल १३२ केभी क्षमताको सो प्रसारण लाइनमा देखिएको समस्या समाधान गरी चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस्तै वनको जग्गा प्रयोग तथा रुख काट्ने समस्याबाट आजित भएको सोलु करिडोर प्रसारण लाइन तोकिएको समयमा पूरा गर्ने लक्ष्य राखिएको छ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो प्रसारण लाइनमा देखिएको समस्या साधनका लागि आफैँ लाग्ने प्रतिबद्धता देखाउनुभएकाले आयोजना चालू आवमा नै सकिने प्राधिकरणको विश्वास रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

उदयपुरमा वन क्षेत्रको जग्गा प्रयोगमा सबैभन्दा बढी समस्या देखिएको सो आयोजना चालू आवभित्रै जसरी भएपनि सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ। ऊर्जा उद्यमीसँग भएको विद्युत् खरीद सम्झौताअनुसार प्रसारण लाइनका कारण उत्पादित विद्युत् खेर गएको अवस्थामा ४५ प्रतिशत हर्जना तिर्नुपर्ने शर्त रहेकाले पनि समस्या समाधान गरेर प्रसारण लाइन सम्पन्न गर्नैपर्ने दबाबमा प्राधिकरण छ।

यस्तै प्राधिरकणले चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेका प्रसारण लाइनमा दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर–बर्दघाट, मस्र्याङ्दी–काठमाडौँ, चिलिमे–त्रिशूली, समुन्द्रटार–त्रिशूली थ्री बी केन्द्र, कोशी करिडोरको इनरुवा–तुम्लिङटार खण्ड रहेको छ। अधिकांश प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको माग सम्बोधन तथा प्रसारण लाइनको क्षेत्र परिवर्तनलगायतका मागका कारण समस्यामा परेको छ।

आर्थिक वर्ष २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको सञ्जाल दुई हजार ९११ सर्किट किलोमिटर पुगेको छ। गत आवमा मात्रै ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको थियो। लामो समयदेखि रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ गरी कूल ३७ रुग्ण आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

सरकारले निर्माणाधीन प्रसारण लाइन निर्माणलाई तोकिएको समयमा पूरा गर्न देखिएका सबै प्रकारका समस्या समाधानका लागि प्राधिकरणलाई स्पष्ट मार्गनिर्देशन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा देखिएका समस्या स्थलगतरुपमा नै गएर समाधान गर्न कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। मन्त्री पुनः प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन्।

मन्त्रालयको स्पष्ट निर्देशन र सरकारले लिएको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र रहेकाले प्रसारण लाइन निर्माणलाई प्राधिरकणले रणनीतिक महत्वमा राखेको छ। सोही लक्ष्यअनुसार आगामी २०७९ भित्र सबै नेपालीलाई विद्युत् सेवा पु–याउन प्रसारण लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ।

भारततर्फ नियमित विद्युत् निर्यात

प्राधिकरणले भारतबाट विद्युत् खरीद मात्रै गरेको छैन। नियमितरुपमा विद्युत् निर्यात गरिरहेको छ। दैनिक ४० देखि ४५ मेगावाट विद्युत् विहार निर्यात भइरहेको छ।

उनले भने, “उताबाट पनि औपचारिकरुपमा माग भई आएकाले हाल दैनिकजसो नै ४० देखि ४५ मेगावाट विद्युत् निर्यात भइरहेको छ ।” प्राधिकरणले गत साउनको अन्तिम साता २५० मेगावाट भारत पठाई इनर्जी बैंकिङको अभ्यास गरेको थियो। कार्यकारी निर्देशक घिसिङले भारतबाट विद्युत् आयात गर्ने मात्रै नभई निर्यात भइरहेको जानकारी दिँदै चालू आर्थिक वर्षको अन्त्यसम्म त्यसको मात्रा बढ्ने बताए।

हाल रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ। प्राधिरकणले कटैया कुशाहा १३२ केभी दोस्रो सर्किट र रक्सोल परवानीपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र विहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार गरिएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *