फलाम खानी उत्खननमा अग्रसरता

डिसी नेपाल
३१ भदौ २०७६ १०:१९

कावासाेती। नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ। सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ। खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ।

फलाम खानी सञ्चालनका लागि सडक विभागले समेत बाटो निर्माणको काम गरिरहेको छ। अहिले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भू–गर्भ विभाग र सडक विभागबाट फलाम खानीको उत्खननका लागि अग्रसरताका साथ काम भइरहेको छ। फलाम खानी सञ्चालनको पहिलो पूर्वाधार सडक निर्माण भएकाले सडकको ट्र्याक खोल्ने काम तीव्रगतिमा चलिरहेको छ।

पूर्वपश्चिम राजमार्गको डण्डादेखि करीब २० किलोमिटर र हुप्सेकोट गाउँपालिकाको झ्यालबासदेखि १४.५ किलोमिटरको दूरीमा रहेको फलाम खानीको हालसम्म छ किलोमिटर बाटोको ट्र्याक खोल्ने काम सकिएको छ। गत वर्ष विनियोजन गरिएको करीब रु पाँच करोड बजेटले छ किलोमिटर बाटो ट्र्याक खोल्ने काम सकिएको छ।

उक्त ठेक्का लाग्दा बाँकी रहेको केही रकमले थप दुई किलोमिटरसम्मको ट्र्याक खोल्ने काम भइरहेको सडक विभागका सवइञ्जिनीयर नवीन पाण्डेले जानकारी दिए। यस वर्षका लागि समेत रु पाँच करोड विनियोजन गरिएको छ। यो रकमले झण्डै फलाम खानीसम्मको ट्र्याक खोल्ने काम सम्पन्न हुने उनले बताए। झ्यालबासदेखि एक किलोमिटरसम्ममा नाला निर्माण तथा ग्राभेल गर्ने कामसमेत चल्दैछ।

खानी तथा भू–गर्भ विभागले फलाम खानी रहेको क्षेत्रमा अहिले सम्भाव्यता अध्ययनको काम गरिरहेको छ। जसअन्तर्गत औद्योगिक प्लान्ट कस्तो रहने, कुन क्षमताको रहने, कुन स्थानमा राख्न सकिने, उत्खननको काम कसरी गर्ने भन्ने विषयको अध्ययन चलिरहेको विभागका सिनियर डिभिजन जियोलोजिष्ट नारायणप्रसाद बाँस्कोटाले बताए।

उनका अनुसार अहिलेको अध्ययनले उत्पादनदेखि बजारीकरणसम्म के कस्तो अवस्था रहन्छ भन्ने निष्कर्ष निकालिनेछ। फलाम कमसल खालको भएकाले दुई वटा प्लान्ट निर्माण गरिने जियोलोजिष्ट उनले बताए।

पहिलो चरणमा प्रशोधन गरी फलाम उत्पादनका लागि दोस्रो चरणमा कार्य गरिने उनले बताए। प्रशोधन केन्द्र खानी भएकै स्थानमा स्थापना गर्न सकिने उनले जानकारी दिए।

यसअघि औद्योगिक परीक्षणका लागि यहाँबाट पाँच टन नमूना चीन पठाइएको छ। विभिन्न १६ स्थानबाट निकाली पठाइएको नमूना परीक्षणले औद्योगिकस्तरमा कति मात्रा फलाम निकाल्न सकिन्छ भन्ने पत्ता लाग्नेछ। परीक्षणको नतिजा अबका दुई महीनासम्ममा आइपुग्ने उहाँले जानकारी दिए।

यहाँ रहेको चट्टानमा ३६ प्रतिशत धाउको मात्रा देखिएको छ। यसलाई एक गे्रड स्तरोन्नति गरी ५८ प्रतिशतको बनाएर फलाम उत्पादन गर्न सकिने देखिएको बाँस्कोटाले बताए। प्रयोगशाला परीक्षणले मध्यम खालको फलाम उत्पादन गर्न सकिने देखिएको बताइएको छ। विसं २०६८ मा खानी तथा भू–गर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा सो स्थानमा फलाम खानी फेला पारेको थियो।

सात वर्षपछि यसको परीक्षण गर्दै उत्पादन गर्न सरकार अग्रसर भएको हो। पूर्वपश्चिम राजमार्गदेखि करीब २० किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलाम खानी रहेको छ ।

यहाँको १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको जनाइएको छ। यहाँबाट १० करोड टन फलाम निकाल्न सकिने प्रारम्भिक अनुमान छ। धौवादीको फलाम खानी अहिलेसम्म फेला परेका खानीमध्ये नेपालकै ठूलो भएको भूगर्भविद्ले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *