सडक सुविधा नभएपछि गाउँपालिका अध्यक्षलाई घोडा
रुकुम पूर्व । स्थानीय तहको चुनाव भएको दुई वर्षभन्दा बढी भइसकेको छ। सबै स्थानीय तहले सहजताका लागि गाडी पनि किनिसकेका छन्।
रुकुम पूर्वका तीनवटै स्थानीय तहले पनि स्कार्पियो किनेका छन्। स्कार्पियो किने पनि पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती भने गाउँपालिकाका विभिन्न ठाउँमा जाँदा घोडामा चढेर जान्छन्।
स्कार्पियो छोडेर रहरले भने अध्यक्ष घर्ती घोडा चढेका होइनन्। १४ वटा वडा रहेको गाउँपालिकाको नौ वटा वडामा सडक सुविधा छैन। सडकको सुविधा नपुगेको ठाउँमा स्कार्पियोको के काम? यसैकारण अध्यक्ष घर्ती गाउँपालिकाका विभिन्न कार्यक्रम तथा ठाउँहरुमा जाँदा घोडा चढेर जान्छन्।
“गाउँपालिकाको १ देखि ९ नम्बरसम्मका वडालाई अहिलेसम्म सडक सञ्जालले छोएको छैन”, अध्यक्ष घर्तीले भने, “सडक सञ्जालले जोडेको वडा नं.१०, ११, १२, १३ र १४ मा पनि सडकको राम्रो व्यवस्था छैन।”
गाउँपालिकाबाट हिँडेर दुई दिन लाग्ने वडाहरु छन्। ती वडाहरुमा पुग्दा घोडाको सहारा लिनुपर्ने स्थिति सिर्जना भएको अध्यक्ष घर्तीको भनाइ छ।
३६ लाखमा किनेको स्कार्पियो सदरमुकाम रुकुमकोट, प्रदेश राजधानी तथा काठमाडौँ जाने बेलामा प्रयोग गर्ने गरेको तर, अन्य बेलामा भने घोडा सहारा नै बन्ने गरेको छ।
वर्षाको समयमा ठाउँठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेका छन्। पुथा उत्तरगङ्गावासीले सवारीको मुख्य साधनका रूपमा घोडा र खच्चरलाई प्रयोग गर्ने गरेका छन्।
“जमाना कहाँबाट कहाँ पुगिसक्यो”, गाउँपालिका–२ पेल्माका दीपक बुढाले भने, “हामीले राम्रोसँग यातायातका साधन प्रयोग गर्न त के देख्नसमेत पाएका छैनौँ, एक ठाउँको सामान अर्को ठाउँमा ओसारपसार गर्न मात्र होइन कतिपय अवस्थामा बिरामी बोक्नसमेत घोडा र खच्चड प्रयोग गर्ने गर्दछौँ।”
यहाँका सर्वसाधारणले मात्र होइन जनप्रतिनिधिले पनि एक ठाउँबाट अर्को ठाउँमा जान घोडा प्रयोग गर्ने गरेको उनले बताए।
गाउँपालिका अध्यक्ष घर्तीले मात्र नभई उपाध्यक्षलगायत पालिकाका अन्य कर्मचारीले पनि घोडा प्रयोग गर्ने गरेका छन्। उनीहरु भन्छन्, ‘सडकमा गाडी गुडेको जस्तो सुविधा त कहाँ हुन्छ र? आफैँ हिँड्न एक दिन त सकिन्छ तर बारम्बार हिँड्न मुस्किल पर्छ।”
गाउँपालिकाका विभिन्न गाउँहरुमा पुग्नुपर्यो भने घोडाले धेरै राहत मिल्ने गरेको उनीहरुको भनाइ छ।
आर्थिक वर्ष २०७५÷७६ मा रु एक लाख ५० हजारमा घोडा किनिएको हो। गाउँपालिकाले घोडा त किन्यो तर, घोडाको खानाका लागि भने खर्च नछुट्याएको गाउँपालिकाले जनाएको छ।
घोडा जसले चढ्छ उसैले घोडाको खाना खुवाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए। उनका अनुसार घोडाको स्याहारसुसारका लागि गाउँपालिकामै तबेला बनाइएको र कार्यालय सहयोगी उज्ज्वल सेनले हेरचाह गरिरहेका छन्।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment