नेपाल वायु सेवा निगम सुधार कार्यदलले बुझायो प्रतिवेदन

डिसी नेपाल
१ असोज २०७६ १७:००

काठमाडौं। अर्बौको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई सो निगमको सुधारका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो ।

पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको ५ सदस्यीय कार्यदलले मन्त्री भट्टराईलाई सिँहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तिय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ ।

त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिनु भयो । प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ । प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि सो निगममा सुधार हुन नसकेको निष्कर्ष पनि निकालिएको छ ।

कार्य दलले निगमको नोक्सान हाल ५ अर्व २१ करोड ७६ लाख रहेको तथा ४० अर्व लोनको पनि व्ययभार रहेको पनि जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एयर बस विमान रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्व ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको पनि बताए।

यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए। उनले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार समेत भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार पनि गम्भिर रहेको बताए। त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ ।

मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *