यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

डिसी नेपाल
२ असोज २०७६ १६:४४

ताप्लेजुङ। ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन।

वर्षात्मा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो। मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन प्रमुख राजु कार्कीले बताए।

‘असार, साउनमा मौसम खराबीले नियमित उडान भएन, अहिले उडानका लागि मौसम अनुकूल भए पनि एक/दुईजना यात्रु फाट्टफुट्ट आउने गर्नुभएको छ, कम्तीमा ६/७ जनासम्म नहुँदा घाटा बेहोर्नु पर्छ’–कार्कीले भने।

यद्यपि चार/पाँचजना सम्म यात्रु पाए घाटा बेहोरेर भएपनि उडान शुरु गर्ने मनस्थितिमा निगम रहेको उनले बताए। सुकेटार विमानस्थलमा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ।

यता निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयवासीको भनाइ छ।

पटक–पटक टिकट काटेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयवासीले गाडी नै चढ्ने गरेका छन्। यो वर्ष असार ४ यता उडान हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *