पर्यटन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको सन्देश दिन साइकलयात्रा

डिसी नेपाल
६ असोज २०७६ १०:४६

परासी। पर्यटन प्रवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज स्थापनाका लागि प्रेरित गर्ने अभियानका साथ नेपाल भ्रमण गरिरहेका साइकलयात्री अभियन्ता कर्ण श्रेष्ठ पश्चिम नवलपरासीमा आइपुगेका छन्। खोटाङबाट साइकलयात्रा शुरु गर्नुभएका उहाँले मुलुकका ७५ जिल्ला भ्रमण गरिसकेका छन्।

यात्राको क्रममा श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनको समुचित सदुपयोग गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको बताए। आज बिहान परासीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशमा व्याप्त विकृत्ति र बेथिति नियन्त्रणमा एक्लैको प्रयासले सम्भव नहुने भएकाले सबै नेपाली एक भएर समृद्ध मुलुक निर्माणमा लाग्नुपर्ने सन्देश फैलाउँदै हिँडेको बताए।

“स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनुपर्ने, भ्रष्टाचार अनियमितता रोकिनुपर्ने, स्थानीय स्रोत साधन र प्राकृतिक स्रोतको सदुपयोग हुनुपर्ने, कृषिलाई औद्योगीकरण गरिनुपर्नेलगायतका कुरामा मैले भ्रमण गरेका जिल्लाका स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ, सञ्चारकर्मी तथा अभियन्तामाझ उठाउँदै आएको छु”, उनले भने।

आफ्नै देशमा उत्पादित सामग्रीको प्रयोग, व्यावसायिक तथा प्राविधिक शिक्षा र नेपालसँग भएको स्रोत साधनको सदुपयोग गर्न सके मुलुकले कोल्टे फेर्ने र भ्रष्टाचार पनि अन्त्य हुने उनको भनाइ छ। खोटाङ जिल्ला दिक्तेल नगरपालिका निवासी ३४ वर्षीय श्रेष्ठले २०७५ चैत ३ गतेबाट यात्रा शुरु गरेका थिए।

भ्रष्टाचारमुक्त समाज र राष्ट्र निर्माणको अभियान बोकेर नेपालका सबै जिल्लाको भ्रमण गर्ने लक्ष्यअनुसार उनले अब नवलपुर र चितवनको भ्रमणपछि यात्रा सम्पन्न हुने र त्यसपछि विदेशमा पनि साइकलयात्रा गर्ने तयारी गरिरहेको बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *