वाशिंगटनमा मनाइयो संविधान दिवस, नेपालको दीर्घकालीन विकासमा अमेरिकाको सहयोग निरन्तर रहने

डिसी नेपाल
६ असोज २०७६ १२:३२

वाशिंगटन डिसी । नेपालको संविधान दिवसको अवसरमा विभिन्न राष्ट्रमा रहेका नेपाली राजदूतावासहरूमा संविधान दिवस विशेष शुभकामना आदानप्रदान  कार्यक्रमहरूको आयोजना भइरहँदा अमेरिकामा पनि गत  सेप्टेम्बर २० तारिख शुक्रबारका दिन नेपाली राजदूतावासले राजधानी वाशिंगटन डिसीमा एक भव्य समारोहको आयोजना गरि धुमधामपूर्वक संविधान दिवस मनाएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको चौथो वर्ष पूरा भई पाचौँ वर्षमा प्रवेश गरेको छ ।नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो ।त्यसैले सोही दिनलाई  राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले  सार्वजनिक बिदा दिने गर्छ । नेपालको लिखित संविधान मध्ये यो सातौँ संविधान हो । नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितमूलक लोकतान्त्रिक देशको परिचय दिएको छ।

वाशिंगटन डिसीमा सम्पन्न उक्त शुभकामना आदानप्रदान विशेष कार्यक्रममा अमेरिकी सरकारको विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियन मामला विभाग हेर्ने उप सहायक सचिव थोमस एल वाज्दा, युएसएआइडिका उप सहायक प्रशासक जेभियर पीएड्रालगायतका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियोे । साथै अमेरिकामा क्रियाशील रहेका संचार माध्यमका प्रतिनिधिहरू, उद्यमी, व्यवसायी तथा पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरू, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुसहित नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको पनि बाक्लो सहभागिता थियो।

उक्त शुभकामना आदानप्रदान विशेष समारोहलाई सम्बोधन गर्दै अमेरिकाका लागि  नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपालको संविधानले बहुदलीय संसदीय व्यवस्था, कानूनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवाधिकारलाई अंगीकार गरेको उल्लेख गर्दै नेपालको संविधान निमार्ण पश्चात मुलुक विकासको गतिमा हिँडेको बताएका थिए। उनले भने– ‘नयाँ संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयन सहित विकासका योजनाहरूले प्राथमिकताका आधारमा काम सुचारु गर्न थालेको छ ।’

राजदूत कार्कीले अमेरिकी सरकारले गरेको ५ सय करोड अमेरिकी डलरको सहायताको स्मरण गराउँदै दुई देशबीच सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले अमेरिकाले नेपाललाई स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, पूर्वाधार लगायतका क्षेत्रमा गर्दै आएको सहयोग र सद्भावप्रति आभार पनि प्रकट गरेका थिए।

साथै राजदूत कार्कीले नेपालको राजनैतिक, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, प्राकृतिक, तथा पर्यटन क्षेत्रको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैलाई एक पटक नेपाल घुम्न आउनसमेत निम्तो गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अथिति अमेरिकी सरकारको विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियन मामला विभाग हेर्ने उप सहायक सचिव थोमस एल वाज्दाले नेपालको संविधान दिवसको शुभकामना दिंदै अमेरिका र नेपालकोे सम्बन्ध बारेमा प्रकाश पारेका थिए । वाज्दाले नेपालको दीर्घकालीन विकासका लागि अमेरिकाको निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत जनाए।

त्यसैगरी कार्यक्रमका अर्का विशेष अथिति युएसएआइडीका उपसहायक प्रशासक जेभियर पीएड्राले नेपालको विकासको लागि युएसएआइडिको भूमीका बारेमा चर्चा गरेका थिए । साथै उनले आगामी वर्षहरूमा नेपाल र अमेरिकाबीचको सम्बन्ध सेतु अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै नेपालको लोकतान्त्रिक संबिधानले नेपाली जनतालाई समानता विकास र दीर्घकालीन सुख शान्तिमा लैजानेसमेत बताए।

राष्ट्रिय धुनबाट शुरु गरिएको उक्त कार्यक्रममा भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपालको कला संस्कृति झल्काउने पोशाक , प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षण झल्काउने तस्वीरहरुको प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रमले दुई देसबीचको सम्बन्ध सुमधुर बनाउनका साथै भ्रमण वर्ष २०२० लाई सफल बनाउने सवालमा टेवा पुग्ने बताइएको छ।

Photo Credit: Rajiv Shrestha – Photo Bank Studio

लाईभ भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *