टिकट काट्न घण्टौं लाइन बसेका  निराश बन्दै फर्किन्छन्

डिसी नेपाल
९ असोज २०७६ ७:१३

काठमाडौं। सरकारले दशैं तिहारलाई लक्षित गरी खुला गरेको अग्रिम टिकट बुकिङ सुरुकै दिनमा सकिएपछि यात्रुहरु भने चिन्तित बनेका छन्।

गत भदौ २६ गते बसेको यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवसायी महासंघको संयुक्त बैठकले गरेको सम्झौता अनुसार ५ गतेदेखि अग्रीम बुकिङ खुलेको थियो। तर, सोही दिन नै टिकट सकिएको छ।

खास गरी पश्चिम नेपालका अग्रीम टिकट बुकिङ सकिएको छ। पश्चिम नेपालमा सिण्डिकेट बढी छ। सिण्डकेटकै कारण धेरै गाडी पश्चिम नेपालमा चल्दैनन्।

५ गते टिकट काट्नका लागि रातभर लाईनमा बसेकाहरुले नै प्रत्येकले ३/४ वटा टिकट काटेको हुँदा बढीजसो ठाउँका लागि १९ गतेसम्मकै लागि बुकिङ सकिएको सुन्धाराको सुदूरपश्चिम टिकट काउन्टरका एक कर्मचारीले बताए।

‘टिकटका लागि काउन्टर धाउनु नधाउनु एउटै हो, टिकट पाइदैनन्’, कैलालीका हेमराज जोशीले भने, ‘५ गते लाइन बस्न पाइएन, त्यसपछि आजसम्म पनि धेरै काउन्टर धाएँ, १९ गते यताका टिकट नै छैनन् भन्छन्, अब यो वर्षपनि यतै बसिने भइयो।’

हेमराज मात्र होइन्, बझाङकी शान्ति उपाध्यायलाई पनि टिकट नपाउँदा उस्तै समस्या छ। दिनप्रतिदिन टिकट काउन्टरहरु धाउँदा पनि टिकट नपाएको उनको गुनासो छ।

‘गत वर्ष पनि गाउँमा जान नपाएकाले यो वर्ष त जसरी पनि घर जाने सोँच बनाएकी थिएँ’, उनले भनिन्, ‘सरकार भन्छ कुनै नागरिकलाई पनि चाडबाडको बेलामा यातायातको असुविधा हुँदैन, तर यता टिकट काउन्टरवालाहरु भने १९ गतेसम्म सबै टिकट बुकिङ भैसकेको बताउँछन्।’

टिकट नपाएपछि यो वर्षको दशैंटिका पनि काठमाडौंमा हुने शान्तिको गुनासो छ।  यता यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भने उपत्यका बाहिरिने सबै नागरिकलाई यातायातको सुविधा भने पर्याप्त भएको दाबी गर्छन्।

उनी भन्छन्, ‘सबै नागरिकलाई चाडबाडमा समस्या नहोस् भन्नका लागि पर्याप्त गाडीको व्यवस्था गरेका छौं।’ कसैलाई पनि असहज हुँदैन।’

यात्रुले टिकट नपाएर अन्यौलमा पर्नुमा महासचिव सिटौला पनि सरकारकै कमजोरी भएको देखाउँछन्। उनी भन्छन्, ‘सरकारले सडकका खाल्डा खुल्डीहरु पुर्ने हो भने नयाँ गाडी थप्नु पर्दैन, यी गाडीहरु नै पर्याप्त छन्। यदि सरकारले सडकका खाल्डा खुल्डीमा कालोपत्रे गर्दैन भने दशैंमा नयाँ गाडी थपेपनि सबै यात्रुलाई ओहोरदोहोर गर्न भने कठिन हुन्छ।’

उनी भन्छन्, ‘हामी यी यातायातले नपुगेमा थप नयाँ गाडी पनि थप्ने तयारीमा छौं। तर सरकारले पनि सडक मर्मत गर्न आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *