दोलखामा पहिरोले पुरिएर चार महिनाकी शिशुको मृत्यु, माइतीबाट फर्कँदै गरेकी आमा गम्भीर घाइते
दोलखा। अविरल वर्षासँगै गएको पहिरोमा परी दोलखामा चार महिनाकी एक शिशुको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका-१ क्याङ्पोल क्षेत्रमा आइतबार राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो। दुर्घटनामा उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन्।
प्रहरीका अनुसार शर्मिला आफ्नी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका-१ सुस्पास्थित माइतीघरबाट बोलेरो गाडीमा आफ्नो घर फर्किंदै थिइन्।
सुनखानी-साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल-हेलेक्पाथाली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएपछि उनीहरू गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका थिए। सोही क्रममा सडकमाथिबाट अचानक खसेको पहिरोले आमा–छोरीलाई पुरेको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्थानीयवासीले तदारुकताका साथ आमा-छोरीको उद्धार गरी दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले चार महिनाकी शिशु एलिनालाई मृत घोषणा गरेका थिए।
पहिरोमा परी गम्भीर घाइते भएकी शर्मिलाको सोही अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै पहाडी जिल्लाहरूमा बाढी तथा पहिरोको जोखिम बढिरहेकाले जोखिमयुक्त सडक र बस्तीमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन सम्बन्धित निकायले सर्वसाधारणसँग आग्रह गरेको छ।






डिसी नेपाल





Facebook Comment