रामेछापको लाछेवारमा पहिरोको बितण्डा: होटल र दुईवटा पक्की पुल बगायो, हाइड्रोको ड्यामसाइडमा क्षति

डिसी नेपाल
२९ असार २०८३ १२:०५

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका-१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा गएराति परेको अविरल वर्षापछि ठूलो पहिरो गएको छ।

पहिरोसँगै ठाडोखोलामा आएको भीषण बाढीले लाछेवार क्षेत्रमा रहेको एउटा होटल पूर्ण रूपमा बगाएको स्थानीय बासिन्दा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन्।

बाढी र पहिरोका कारण सोही क्षेत्रमा रहेका दुईवटा मोटरेबल पक्की पुलसमेत बगेका छन्। पुल र सडक सञ्जालमा गम्भीर क्षति पुगेपछि हाल लाछेवारतर्फ जाने सम्पूर्ण यातायात र सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीपहिरोले सोही क्षेत्रमा निर्माण भइरहेको दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको जलविद्युत आयोजनाको ड्याम (बाँध) क्षेत्रमा समेत उल्लेखनीय क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

सरकारी तथा सुरक्षा निकायबाट घटनाको आधिकारिक विवरण सार्वजनिक भइनसकेकाले बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

अविरल वर्षा र पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र आधिकारिक सूचनाहरूलाई मात्र पछ्याउन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *