सहकारीले खसीबोका बिक्री गर्दै

डिसी नेपाल
१० असोज २०७६ ११:२९

कावासोती । दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् । यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् ।

बुटवल, चितवन, पोखरा, काठमाडाँैलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । “खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने गरेको छु”, चितवनबाट खसी खरीदका लागि आएका व्यापारी सुनिल तिवारीले भने । नवलपुरको पहाडी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । यस वर्ष बाख्रा पकेट क्षेत्रका रुपमा विभिन्न क्षेत्रका कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

हुप्सेकोटको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारीले रु दुई करोड ५० लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने लक्ष्य लिएको छ । विजयादशमीमा सहकारीले करीब दुई हजार खसीबोका बिक्री गर्ने गरी सङ्कलन केन्द्र सञ्चालनमा ल्यएको छ । सहकारीले सङ्कलन केन्द्रमा रहेका खसीबोकमालाई जिल्लाका विभिन्न बजारसँगै चितवन, बुटवल, पोखरा, काठमाडाँै पठाउँदै आएको व्यवस्थापक सुशीला परियारले बताइन् । हामीले पाँच वर्र्षदेखि खसीबोका किसानबाट सङ्कलन गरी बिक्री गर्दै आएका छौँ”, उनले भनिन् ।

सहकारीले अहिले प्रतिकिलो रु ४९० का दरले जिउँदो खसीबोकाको मासु बिक्री गरिरहेको छ । दशैँसम्म मूल्य बढेर रु ५१० सम्म पुग्ने उनले बताइन् । पहाडी क्षेत्रबाट धेरैजसो खसीबोका झ्यालबासको सङ्कलन केन्द्रमा ल्याउने गरिएको छ । गत वर्ष उक्त सहकारीले रु दुई करोड ८१ लाखको दुई हजार ९८६ खसीबोका बिक्री गरेको थियो । “यस वर्ष चार हजार खसीबोका बिक्री गर्ने लक्ष्य”, परियारले भनिन् ।

यस्तै मध्यविन्दु नगरपालिका–१२ तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारीले समेत खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । तीन वर्षदेखि तमासपुरमा खसीबोका तथा बाख्रा बिक्री केन्द्र स्थापना गरी सहकारीले खसीबोका बिक्री गर्दै आएको व्यवस्थापक सुमित्रा पाल्पालीले बताइन् । बिचौलियामार्फत बिक्री गर्दा किसानलाई नाफा कम हुने र किसानले लगानी गरेअनुसार प्रतिफल पाउन नसक्ने अवस्था थियो । बिक्री केन्द्र स्थापना गरेर सोझै बिक्री गर्न थालेपछि किसानलाई नाफा भएको पाल्पालीले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *