निरास जनता गणतन्त्रको विरोधमा उत्रिए भने के हुन्छ?

डिसी नेपाल
१४ असोज २०७६ १४:५५

नेपाली जनता कुनै न कुनै रुपमा कुनै न कुनै किसिमले ठगिने प्रवृत्ति बढ्दै गएको छ। यसलाई राज्यले नियन्त्रण गर्न सक्नु पथ्र्र्योे, त्यसो भएको देखिएन। हाम्रो बजारमा दशैंको मुखमा मात्र सबैजसो सरकारी निकायले अनुगमन भन्दै पसल–पसल पुग्छन् ।

विगत केही वर्षका अभ्यास हेर्दा यो परम्परा नै बनिसकेको देखिन्छ । ११ महिना ठग्न दिने अनि दशैंको एक महिना अगाडि अनुगमन भनेर जनतालाई केही गरेको जस्तो देखाउने राज्यको प्रवृत्ति दुर्भाग्यपूर्ण कुरा हो।

मानिस सहकारीका नामबाट ठगिएका छन्, बैंकबाट ठगिएका छन्, पसलबाट ठगिएका छन्, म्यानपावरबाट ठगिएका छन्। ब्राण्डेड शोरुम भनेको छ, ६० प्रतिशत नक्कली ब्याक डोरबाट छिराएर राखिएका सामानबाट जनता ठगिएका छन्।

यसलाई नियमित रुपमा अनुगमन गर्नुको साटो ११ महिना आँखा चिम्लिने अनि एक महिना अनुगमन गरेको जस्तो गरेर राज्यले कतै मिलिभगतमा सहभागी भएको त छैन भन्ने आशंका उब्जिएको छ।

यसरी नेपाली जनता ठगिनु र ठग्नु उचित होइन। किसानका लागि सरकारले निर्धारण गरेको दूधको मूल्य कति ? दूध बिक्रेताहरुले कति मूल्यमा बेचेका छन्? तरकारी, दाल चामल, दैनिक उपभोग्य बस्तुमा हेर्दा आम सर्वसाधारण दैनिक ठगिएका छन्।

उपभोक्ता पनि ठगिएका छन् साना किसान उत्पादक पनि ठगिएका छन् । नाफनजति सबै बिचौलियाले लिएका छन् । भन्सार तिरेर ल्याएका बस्तु कुन भन्सार मूल्यमा कर तिरिन्छ, त्यो भन्दा बढी मूल्यमा बेच्न नदिने प्रति सरकार किन सचेत हुन सकेन? यस अर्थमा सरकार ठगहरुसँग मिलेको छ।

यतिमात्र होइन ठगहरुले सरकार र उपभोक्ता दुवैलाई ठगेका छन् । क्रय मूल्य भन्दा कम मूल्य देखाएर सरकारलाई राजश्व ठगेका छन् अति त्यही सामान अत्याधिक मूल्यमा बजारमा बेचेर उपभोक्ता पनि ठगेका छन् ।

लेखक : जगदीश दाहाल

प्रधानमन्त्रीको इमान्दारिताप्रति कसैले पनि प्रश्न उठाउन मिल्दैन। प्रधानमन्त्री इमान्दार हुनुहुन्छ। प्रधानमन्त्रीले यसै हप्तामात्रै के भन्नु भएको छ भने–सरकार दीर्घकालीन पूर्वाधार निर्माणमा लागेको छ। त्यसको नतिजा आजको भोलि नै होइन, भविष्यमा नेपाली जनताले महशुस गर्नेछन्।’ प्रधानमन्त्रीको भनाइ ठिक हो।

पूर्वाधार निर्माणबाटै मुलुक विकसित हुने हो। त्यसमा शंका छैन। र, दीर्घकालीन पूर्वाधार निर्माण गर्न पनि लामै समय लाग्छ । त्यो पूर्वाधार निर्माण सम्पन्न भइसकेपछि जनताले पनि त्यसबाट लामै समयसम्म लाभ लिन सक्छन् ।

तर, प्रधानमन्त्रीका मन्त्री कस्ता छन्? सामान्यतया बर्खामा सडकमा बग्ने पानी नियन्त्रण गरेर स्टोरेज गरेर जनतालाई वितरण गर्न किन सक्दैनन्? किनभने उनीहरु निजी पानी बिक्रेतासँग मिलेका छन्।

अहिलेसम्मको स्थिति हेर्दा प्रस्ट भन्न सकिन्छ – लोकतान्त्रिक गणतन्त्रले जनतालाई केही दिन सकेन । जनताको पहिलो प्राथमिकता भोको पेट भर्नु र नांगो जिउ ढाक्नु हो। तर यो सरकारको कार्यशैलीले गर्दा त्यो संभव भएन भनेर जनता सडकमा उत्रिए भने अचम्म मान्नुपर्दैन। त्यसलाई संसारले साथ दिन्छ।

किन सडकको धुलो धुँवा नियन्त्रण गर्नेतर्फ मन्त्री लाग्दैनन्? किन सडक मर्मत संम्भार हुँदैनन्, किन ठूलो प्रोजेक्टमा आँखा लगाउने र साना प्रोजेक्ट नगर्ने र नगराइने हुन्छ? किनकि सानातिना कुराहरु जनताको दैनिकीसँग जोडिएका छन् । यी सानातिना कुरामा समस्या हुँदा जनता समस्यामा पर्छन् ।

र, त्यही समस्यालाई व्यापार बनाउनेहरुको अहिले बजारमा हालिमुहाली छ । यो सबै ठगी हो। नेपाली नागरिकमाथि आज दोहोरो, तेहोरो कर लगाइएको छ। स्थानीय तहले लगाउने कर, प्रादेशिक सरकारले लगाउने कर, संघीय सरकारले लगाउने कर । करका विषयमा सरकारसँग के जवाफ छ?

कर कति उठ्यो र कर तिरे वापत जनताले के पाइरहेका छन्? यो विषयमा कसलाई प्रश्न गर्ने? कसले कहाँ जवाफ दिने? जनताका प्रतिनिधि वा सांसदहरु आफ्नो सुविधा, हित भलाइ र फाइदाका लागि लालायित छन्।

सरकारले उनीहरुलाई ललिपप चटाइदिएको छ। समिति र गाडी, सुविधा र विदेश भ्रमण, औषधि उपचारका नाममा पकेट मनी दिएर उनीहरुलाई कृतज्ञ राखेर जनताका गुनासा सदनमा राख्न वा बोल्नबाट बिमुख गराएको छ।

त्यसैले नेपाली जनता कति ठगिने? नेपाली जनताले कुन खुशियालीले दशैं लगायत चाडबाड मनाउने? शहरिया जीवनका नेपाली जनताको तनाव कसले बुझ्ने? कति किसिमको तनाव छ?

राजनीतिक भ्रष्टाचारले गर्दा प्रशासनिक भ्रष्टाचार, ठगी, न्यायिक क्षेत्रका भ्रष्टाचार र नेतृत्व सक्षम नहुनु वा स्वस्थ्य फुर्तिलो प्रधानमन्त्री र इच्छा शक्ति भएको प्रधानमन्त्री देशलाई आवश्यक पर्यो। इच्छा शक्ति र इमान्दार भएरमात्र पनि नहुने रहेछ। स्वस्थ पनि चाहियो। त्यसले गर्दा धेरै कुराको समस्या आयो।

कतै यी सबै कुराले गणतान्त्रिक लोकतन्त्र विरुद्ध आम नेपाली सडकमा उत्रिनुपर्ने त होइन ? किनकि अहिलेसम्मको स्थिति हेर्दा प्रस्ट भन्न सकिन्छ – लोकतान्त्रिक गणतन्त्रले जनतालाई केही दिन सकेन । जनताको पहिलो प्राथमिकता भोको पेट भर्नु र नांगो जिउ ढाक्नु हो। तर यो सरकारको कार्यशैलीले गर्दा त्यो संभव भएन भनेर जनता सडकमा उत्रिए भने अचम्म मान्नुपर्दैन। त्यसलाई संसारले साथ दिन्छ।

त्यसैले प्रधानमन्त्रीको इमान्दारितामा शंका नहुँदा हुँदै पनि प्रधानमन्त्रीको स्वस्थताको अभावका कारण र मन्त्रिपरिषदको अनुशासन नहुनु र भ्रष्ट मानसिकताले जसले जहाँ पाएपनि ठग्ने प्रवृत्तिको परम्परा बन्नुले नेपाली जनताका चाडवाड निकै खल्लो भएको छ । नेपाली जनता कति ठगिनु भन्ने प्रश्न उब्जिएको छ।

अन्त्यमा नेपालीको महान चाड विजया दशमीका हार्दिक मंगलमय शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *