भीरमा झुन्डिएको नयाँ गठबन्धन

शंकरप्रसाद रिजाल
५ वैशाख २०८१ १०:५७

एमालेसँगको सहकार्यमा प्रधानमन्त्री बनेर कांग्रेससँगै गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड अहिले फेरि एमालेसँग सहकार्य गर्न आइपुगेका छन्।

संसदको तेस्रो शक्ति, त्यो पनि जम्मा ३२ सिट जितेको माओवादीलाई कांग्रेस र एमालेले पालैपालो बोकेर प्रधानमन्त्री दिइरहँदा प्रचण्डमा अहंकार बढेको देखिन्छ, र उनले बेला बेलामा आफू रहेसम्म उथलपुथल गरिराख्ने बताउने गरेका छन्।

देश र जनताका लागि भन्दा पनि आफूलाई केन्द्रमा राखेर राजनीतिक गर्दै आएका प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई कसरी स्थापित गर्लान् त्यो समयक्रमा देखिने नै छ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग घाँटी जोडेका प्रचण्ड सरकारको आयुका विषयमा गठबन्धन बनेकै दिनदेखि प्रश्न उठेको छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने आवाज उठिरहेका बेला गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सुदूरपश्चिममा गरेको विद्रोह, २१ सिट भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा वर्तमान गृहमन्त्रीमाथि लागेको सहकारी ठगी प्रकरणको अभियोग र जसपाभित्र पनि वर्तमान सरकारमा जान हुने र नहुनेबीचको विवादलाई हेर्दा वर्तमान सरकारको आयुका विषयमा प्रश्न उठ्नु स्वभाविक हो।

विभिन्न शक्तिकेन्द्रको दबाव र प्रभाव नेपालको सत्तामा पर्ने विगतको इतिहासलाई नजिर मान्ने हो भने प्रचण्डले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग घाँटी जोडेको हुन सक्छ।

दक्षिण र उत्तरको प्रभाव नेपालको सत्तामा पर्दै आएको विगत, ओली-प्रचण्ड र माधव नेपालको विगतको सम्बन्धलाई विश्लेषण गर्दा यो गठबन्धन धेरै जाने देखिँदैन र त्यसको संकेतसमेत देखा पर्न थालेका छन्।

कांग्रेस र माओवादीबीच भएको सहमति अनुसार कांग्रेस अझै एक वर्ष प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार भएकै थियो। अहिले प्रचण्डले एमालेसँग गठबन्धन गर्न जाँदा पनि कांग्रेसले प्रचण्डले भने बमोजिम सहमति गर्न आफू तयार भएको जनाएर इमान्दारिता देखाए पनि प्रचण्डले त्यसलाई अस्वीकार गर्दै एमालेसँग गठबन्धन गरे।

आफूले लाख कोशिश गर्दा पनि गठबन्धन नजोगिएपछि यतिबेला कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानविनको माग गर्दै संसद अवरुद्ध पारेको छ। तर कतिपयले यसअघि कांग्रेसले रविलाई प्रधानमन्त्रीको अफर गरेको पनि चर्चा छ।

कांग्रेस एमालेबीच सहकार्यको चर्चा चलिरहेका बेला वर्तमान गठबन्धनको भविष्य अन्योलमा परेको चर्चा हुन थालेको छ। नयाँ गठबन्धनको सरकार कति दिनसम्म टिक्ने हो थाहा छैन। यसो हेर्दा साँच्चै भीरमा झुन्डिएको नयाँ गठबन्धन जस्तो लाग्छ।

यो नयाँ गठबन्धनको सरकारमा फेरि बिषयविज्ञ मन्त्री नबनाई एकदुई बाहेक उही पुरानै शैली र पाराका मन्त्रीहरु सामेल भएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वाशको मत लिन आफ्नो नेतृत्वको गठबन्धनको सरकारले गर्ने विकास निर्माणको प्रतिबद्धता पुराणको शैलीमा बाचन गरी पुरानै शैलीमा आफूलाई प्रस्तुत गरिसकेका छन्।

प्रचण्डकै नेतृत्वमा मुलुकमा गणतन्त्र आएको १८ वर्ष पूरा भइसक्दासमेत देशको अवस्था झन् झन् दयनीय हुँदै गएको छ। अस्थिर निर्वाचन प्रणालीका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकार अस्थिरताको सिकार बनेका छन्।

आफ्ना भाषणमा सुशासनको चर्को कुरा गर्ने प्रधानमन्त्रीकै कारण मुलुकमा अस्थिरता बढेको कुरालाई नकार्न सकिन्न। कहिले कसको बुई चढेर त कहिले कसको बुई चढेर आफू प्रधानमन्त्री भइराख्ने प्रचण्ड चाहना नै मुलुकमा अस्थिरताको कारक हो।

कांग्रेस एमाले जस्ता जिम्मेवार दलले अब प्रचण्ड पेलानबाट मुक्ति पाउनुपर्छ र मुलुकमा राजनीतिक स्थिरता र सुशासनको प्रत्याभूति दिनुपर्छ। त्यसका लागि संविधानमा भएका कमीकमजोरीलाई सच्याउँदै संशोधनमार्फत भएपनि कुनै एक पार्टीको बहुमत आउने वातारण बनाउनुपर्छ।

मुलुकलाई सधैं अस्थिरता र राजनीति बन्दी बनाइ राख्नु हुँदैन। अहिलेको नयाँ दलहरुले पनि यो विषयमा ठूला दललाई साथ दिनुपर्छ। देशमा केही गरौं भनेर आएको रास्वपाले पनि वर्तमान निर्वाचन प्रणालीलाई सुधार गरी राजनीतिक स्थिरता दिनु पहल गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *