पूर्वप्रधानमन्त्री र राष्ट्रपतिहरू गाउँ फर्किए कस्तो होला?
विश्वका धेरैजसो मुलुकमा प्रधानमन्त्री वा राष्ट्रपति आफ्नो निश्चित पदावधि सकिएपछि सहज रूपमा नागरिक जीवनमा फर्किने गर्छन्।
कतिपय पूर्वनेताहरू त आफ्नो पुरानै शिक्षण, वकालत वा कृषि पेशामै फर्केर सरल जीवन बिताइरहेका उदाहरण पनि प्रशस्तै पाइन्छन्। तर, हाम्रोजस्तो गरिब देशमा भने नेताहरू जीवनको अन्तिम समयसम्म पनि सत्ताकै वरपर घुमिरहने र युवा पुस्ताको बाटो छेकिरहने प्रवृत्ति हाबी छ।
अहिले नेपालका पुराना प्रायः सबै राजनीतिक दलमा यही धमिलो परिदृश्य देखिन्छ। नेतृत्वमा हस्तान्तरण र रूपान्तरण नहुँदा नयाँ र क्षमतावान् युवाहरूले अवसर पाएका छैनन्, जसले गर्दा पार्टीहरूभित्र तीव्र असन्तोष र आन्तरिक रडाको मात्र मच्चिरहेको छ।
यसका ज्वलन्त उदाहरणहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीजस्ता प्रमुख दलहरूमा स्पष्टसँग देख्न सकिन्छ। यी दलका शीर्ष अध्यक्ष तथा सभापतिहरू आफू अशक्त वा जीवनको अन्तिम मोडमा नपुगुञ्जेल नेतृत्वमा टाँसिएरै बस्न चाहन्छन्।
अर्कोतर्फ, पूर्वराष्ट्रपतिहरूमध्ये कोही राज्यले दिएको सेवा-सुविधा पुगेन भनेर असन्तुष्टि जनाउँदै रोइलो गरिरहेका छन् भने कोही पुनः पुरानै दलमा फर्किएर सत्ता राजनीति कब्जा गर्ने दाउपेचमा देखिन्छन्।
यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू सत्ता र नेतृत्व नछाड्ने हठ मात्र राखेका छैनन्, पार्टी विधानमा रहेको उमेर हद र पदावधिको व्यवस्थासमेत हटाएर नेतृत्वमा कायम रहने बाटो रोजेका छन्।
उनको प्रधानमन्त्रीत्वकालमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा ठूलो संख्यामा विद्यार्थीहरू प्रहरीको गोलीबाट मारिए, धेरै धनजनको क्षति भयो। तर, यति ठूलो घटना हुँदा पनि उनले कुनै नैतिक दायित्व लिएनन् र जनतासँग माफीसम्म मागेनन्।
अझै पनि उनी भविष्यमा पुनः प्रधानमन्त्री बन्ने आशामा नै छन्। अहिले उनको अलोकप्रियता तीव्र रूपमा बढेको छ, जसका कारण पार्टीभित्रै पनि उनलाई रुचाउने कार्यकर्ताको संख्या ह्वात्तै घटेको छ र पार्टी नै संकटपूर्ण अवस्थामा पुगिसकेको छ।
यदि केपी ओलीले हिम्मत गरेर नेतृत्व नयाँ पुस्तालाई सुम्पी शान्तिपूर्वक आफ्नो पुर्ख्यौली घर फर्किने निर्णय गर्ने हो भने उनको बाँकी जीवन निकै सरल र सम्मानजनक रूपमा बित्न सक्थ्यो।
उनी अहिले आफ्नो जन्मथलो तेह्रथुमको आठराई, ईवुआ गएर बाबु-बाजेले बनाएको घरलाई पुनःनिर्माण गरी बस्ने हो भने त्यहाँको स्वच्छ र प्रदूषणरहित हावापानीले स्वास्थ्यमा सुधार आउने मात्र होइन, गाउँका पुराना आफन्त र छर-छिमेकीसँगको आत्मीयताले उनलाई गहिरो मानसिक शान्ति मिल्नेछ। साथै, उनी त्यहाँ बस्दा स्थानीय विकास निर्माणमा पनि सकारात्मक मद्दत पुग्नेछ।
त्यहाँका शिक्षण संस्थाहरूलाई गुणस्तरीय र सीपमूलक तालिम दिने गरी सञ्चालन गर्न निर्देशन, सल्लाह र सहयोग पुर्याउन सकिन्छ। स्थानीय स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आवश्यक औषधि र उपचारको पहुँच बढाउन मद्दत पुग्न सक्छ।
केपी ओलीले साँच्चै विकास चाहने हो भने अझै पनि आफ्नो गाउँको मात्र होइन, सिङ्गो क्षेत्रकै विकासमा योगदान दिन सक्छन्। त्यसका लागि काठमाडौँका काठमाडौँ महानगरका प्रमुख बालेन शाहलाई गाली गरेर होइन, युवा प्रधानमन्त्री बालेनको जोश-जाँगरलाई साथ दिँदै अघि बढ्नु आवश्यक छ।
त्यस्तै, आठराईको तमोर नदीमा जलाशययुक्त विद्युत् आयोजनालाई शीघ्र निर्माण गराई लिफ्टिङ प्रविधिमार्फत माथिल्लो गाउँसम्म पिउने पानी र सिँचाइको प्रबन्ध मिलाउन सकिन्छ, जुन योजना केपी ओलीकै पालामा सुरु भएको थियो।
काठमाडौँमा बसेका उनका सल्लाहकारहरूले पनि यसतर्फ लाग्न आवश्यक सल्लाह दिने हिम्मत गरून्। तर, चाकडीबाज र अवसरवादीहरूले भने ओलीलाई बदनाम गराएर भए पनि घाटमा नपुगुञ्जेल नेतृत्वबाट हट्न नदिने वातावरण बनाइरहेका छन्।
यो कुराको गम्भीरतालाई स्वयं केपी ओलीले महसुस गरेमा उनको जीवनको अन्तिम समय निकै सुध्रिनेछ। साथै, आठराई चुहानडाँडामा बन्ने भनिएको विमानस्थल निर्माणको गति अघि बढाउन सके स्थानीयबासीले ठूलो फाइदा पाउने थिए। यदि शीर्ष नेताहरू आफ्नो जन्मथलो फर्किएको खबर फैलियो भने त्यसबाट प्रेरित भएर धेरै आफन्तजन र युवाहरू गाउँ फर्किएर आधुनिक कृषि तथा विभिन्न व्यवसाय गरी आत्मनिर्भरतातर्फ लाग्न सक्नेछन्।
यस्तै प्रकारले, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरा फर्किएर आफ्नो गाउँको घर मर्मत-सम्भार (रेनोभेसन) गरी गाउँमै बसेर त्यहाँको विकासमा मद्दत पुर्याउन सके स्थानीय जनता मात्र होइन, उनका कार्यकर्ताहरू पनि असाध्यै खुसी हुने थिए।
उनले कमाएको अकुत सम्पत्तिको केही अंश मात्रै पनि गाउँको आधुनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै पिउने पानी र सिँचाइको प्रबन्धमा ध्यान दिन सके भने देउवाले नेपाली जनताको माया फेरि पनि पाउन सक्नेछन्।
अन्यथा, काठमाडौँ बसेर आगोले डढेको घर हेर्दै, कार्यकर्ताहरूसँग जुधेर बस्ने र कहिले एनसेल, वाइडबडी त कहिले भुटानी शरणार्थी काण्डको फाइल खोलेर भ्रष्टाचारमा कारबाही होला र जेल परिएला भन्ने मनमा पिर लिएर मात्रै जीवन बिताउनुपर्नेछ।
तर, गाउँमा फर्किए शुद्ध हावापानी, गाउँलेको हार्दिक माया र कार्यकर्ताको सद्भावका साथ देउडा खेल्न पाइनेछ, जुन कुरा अब सहरमा पाइँदैन। गाउँमा गएर राम्रा काम गर्दै गएपछि नेपाली जनताले पनि उनीबाट विगतमा भएका खराब कामहरू बिस्तारै बिर्सिँदै जानेछन्।
त्यस्तै गरेर, प्रचण्ड र डा. बाबुराम भट्टराई आफ्ना गाउँ फर्किए पनि हुन्छ। नभए आफूले जनयुद्ध सुरु गरेको रोल्पा-रुकुमको विकास गर्छु भनेर त्यतै तिर लागे पनि धेरै राम्रो हुन्छ। यी दुवै जनाले आफूले जानेका विषय स्थानीय विद्यालयहरूमा गएर पढाए पनि हुन्छ। तर अब राजनीतिक वा जनवादी शिक्षा होइन, नेपाल सुहाउँदो सीपमूलक र नैतिक शिक्षा अनिवार्य रूपमा सिकाउनुपर्छ।
नेपालका दुर्गम गाउँहरू अझै पनि विकासबाट पछाडि परेका छन्। जनताका आधारभूत आवश्यकता भनेका गुणस्तरीय शिक्षा, स्वास्थ्य, पिउने पानी र सिँचाइको उचित प्रबन्ध हुन्। यति कुरामा मात्रै नेताहरूले ध्यान दिएमा जनताले ठूलो राहतको महसुस गर्नेछन्।
अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि इलाम फर्किएर आफ्नो गाउँ साँखेजुङलाई नमुना लायक बनाउन सक्छन्। त्यहाँको अलैँची र चिया खेतीलाई सहयोग पुर्याउँदै जनतालाई आधुनिक कृषिमा आत्मनिर्भर बनाउन र फलफूल खेतीमा प्रोत्साहन दिन उनी क्रियाशील हुन सक्छन्।
अर्कोतर्फ, पूर्वराष्ट्रपति डा. रामवरण यादव आफैँमा चिकित्सक भइसकेका मानिस हुन्। उनी आफ्नो गाउँमा गएर गरिब गाउँलेहरूको सेवामा खटिए भने सबैले उनको जयजयकार गर्नेछन्।
त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि छोरीहरूको विवाह गरिसकेपछि आफ्नो गाउँ भोजपुर गएर वृद्धाश्रम खोलिदिन सक्नुहुन्छ। त्यसको व्यवस्थापन गर्ने, स्थानीय जनतालाई आत्मनिर्भर बनाउने तथा ससाना उद्योगहरू सञ्चालन गरी युवाहरूलाई गाउँमै रोजगार बनाउने उपायहरू कार्यान्वयन गर्न उहाँले एमालेका कार्यकर्ता परिचालन गर्न सक्नुहुन्छ।
विद्या भण्डारीले अहिले आएर पुनः एमालेको सक्रिय राजनीतिमा फर्किने प्रयास गर्नु झनै बदनाम हुने बाटो मात्रै हो। किनकि, अहिलेका एमाले कार्यकर्ताहरू पहिलाको जस्तो अनुशासित र लोकप्रिय छैनन्। प्रायजसो मुखाले भएका र अरूलाई गालीगलौज गरेर समय बिताउने कार्यकर्ताहरूको जमात बढी भइसकेको छ।
सरकारले पनि सहरमा सुख-सयल र मोजमस्तीमा बस्ने यी पुराना नेताहरूलाई दिँदै आएको असीमित सेवा-सुविधा र सहुलियत पूर्ण रूपमा बन्द गराउनुपर्छ। पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीहरूका नाममा राखिएका अनावश्यक सुरक्षा गार्डहरू हटाउनु आवश्यक छ। सरकारले यस्ता पुराना नेताहरूलाई आ-आफ्नो गाउँमा गएर बस्ने वातावरण बनाउँदै आवश्यक सहयोग र प्रबन्ध मिलाउनु उचित हुनेछ।
यदि दलका शीर्ष नेताहरू नै गाउँमा गएर बस्न थाले भने सहर र विदेश भाग्न खोज्ने युवाहरू पनि गाउँमै अडिन र फर्किन थाल्नेछन्। त्यसपछि मात्र गाउँको वास्तविक विकासका लागि नेतृत्व तहबाट दबाब पुग्नेछ र नेताहरूको जनतासँगको सामीप्यता पुनः बढ्न थाल्नेछ।
अनि मात्र अहिलेको जस्तो निर्वाचनका बेला मात्र टुप्लुक्क देखा पर्ने राजनीतिक दलका नेताहरूको गुमेको इज्जत र प्रतिष्ठा पनि क्रमशः फर्किनेछ। यसो हुन सकेमा मात्र नेपाली राजनीतिले अन्ततः सही बाटो समात्नेछ।
No ads found for this position




Facebook Comment