धेरै मार्मिक, केही रमाईला: यी हुन् कहिल्यै पुरानो नहुने दसैं गीत

डिसी नेपाल
१९ असोज २०७६ ८:४८

काठमाडौं। हरेक वर्ष बजारमा दसैंका नयाँ–नयाँ गीत सार्वजनिक हुन्छन्। युट्युबमा सार्वजनिक हुने ती गीतमध्ये केही रेडियो, टेलिभिजनमा बज्छन् पनि।

तरपनि रेडियो, टेलिभिजनमा दसैंका पुरानै गीतले नै बढी स्थान जमाउँदै आएका छन्। कारण, दसैंका केही पुराना गीत कालजयी बनेर स्रोता, दर्शकको मुख–मुखमा झुण्डिएका छन्। अर्थात ती गीत आजसम्म पनि पुराना भएका छैनन्। त्यस्ता गीतमा धेरै मर्मस्पर्शी गीत छन् भने केही रमाईला पनि।

१. नमुछे आमा दहीमा टीका…
दसैं आउनेवित्तिकै धेरैले सम्झिने कालजयी गीत हो, ‘नमुछे आमा दहीमा टीका …’। वरिष्ठ गायक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले यस गीतको शब्द लेखेका हुन्। यो गीतलाई शुरुमा नारायण रायमाझीले एकसरो लोकभाकामा गाएका थिए। तर शुरुमा गीतले चर्चा पाएन्।

पछि २०५७ सालताका दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलिन पुग्यो। पछि चलचित्रका लागि प्रशान्त तामाङले पनि यो गीत गाएका छन्। दशैंका सदावहार गीतमध्ये सबैभन्दा मार्मिक गीत हो यो ।

२. दसैं आयो
चलचित्र ‘मुग्लान’मा समावेश ‘दशैं आयो’ बोलको गीतलाई दसैंको सदावहार गीतका रुपमा लिइन्छ। यो गीतले दसैंको मर्मलाई राम्रोसंग प्रस्तु्त गरेको छ।

गीतमा बारीमा कोदो फूलेपछि, खेतमा धानका बाला झुलेपछि दसैं आउने उल्लेख गरिएको छ। परदेश गएको छोरा घर आउने दिन कुर्दै औंला भाँचेर पर्खिरहेको, घर छाडेका परदेशी फर्केपछि परिवार र आफन्तमा छाउने खुसी, जमरा, रातो टीकाको महत्वदेखी गाउँमा पिङ खेलेका कुरासंगै मायाप्रेमका कुरालाई समेटिएको छ।

लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा उदित नारायण झा र दीपा झाले स्वर भरेका छन्। गीतमा सुरेश अधिकारीले संगीत भरेका हुन्। दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा लगायतलाई यो गीतको भिडियोमा देख्न सकिन्छ।

३. विछोडको पीडा नसकी खप्न
नारायण गोपाल र दिलमाया खातीको स्वर रहेको ‘विछोडको पीडा नसकी खप्न …’ बोलको गीत हरेक दसैंमा गुञ्जिने गीत हो। रत्नशम्शेर थापाको शब्द रहेको गीतमा नारायण गोपाल स्वयंले संगीत भरेका छन्। यो २०३० को दशकमा रेकर्ड भएको गीत हो। यस गीतमा रत्नशम्शेर थापाको शब्द तथा नारायण गोपाल स्वयंको संगीत छ।

गीतमा दसैंमा परदेशमा रहँदाको पीडा, परदेशीको घर फर्किने चाहना समेटिएको छ। परदेशमा रहेको प्रेमीले प्रेमिकालाई मायाको चिनोको रुपमा चुराधागो लिएर दसैंमा रमाईलो गाउँ फर्किने कुरा उल्लेख गरिएको छ।

४. दशैं नै हो कि यो मेरो दशा
दसैंको मर्मस्पर्शी गीतमा पर्छ, ‘दसैं नै हो कि यो मेरो दशा…’। प्रेम बस्नेतको शब्द, न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा योगेश्वर अमात्यको स्वर छ। यो गीत आजभन्दा करिव २ दशकअगाडी रेकर्ड भएको गीत हो।

न्यून आम्दानी भएका परिवारलाई दसैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको भाव गीतले बोलेको छ। हरेक वर्षको दसैंमा सञ्चारमाध्यममा यो गीत गुञ्जिँदै आएको छ।

५. यसपालि त यस्तै भो आमा
दसैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको वह हो, यो गीत। गीतमा जनगायक जीवन शर्माको स्वर छ। गीत निकै नै मार्मीक छ। हरेक वर्षको दसैंमा यो गीत सञ्चारमाध्यममा घन्किँदै आएको छ।

६.रातो टीका निधारमा
दसैंमा गुञ्जिनेमध्येको अर्को सदावहार गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’। यो चलचित्रमा समावेश गीत हो। आजभन्दा २ दशकअगाडी प्रदर्शनमा आएको चलचित्र ‘अल्लारे’मा यो गीत समावेश छ। शहदेव ढुंगानाको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ।

भिडियोमा अभिनेता राजेश हमाल र करिश्मा मानन्धरले अभिनय गरेका छन्।
यो गीतको लोकप्रियताकै कारण अहिले यही गीतबाट चलचित्र बनेको छ। साथै गीत रि–एरेञ्ज गरिएको छ। जुन चलचित्र हलमा प्रदर्शनरत छ।

रि–एरेञ्ज गरिएको गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ। जसको भिडियोमा ‘रातो टीका निधारमा’का कलाकार अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका छन्।

७. दाइ त मेरो लाहुर जाने
यो गीतमा युक्त गुरुङ र सावित्री शाहको स्वर छ। दैवज्ञराज न्यौपानेको शब्द रहेको गीतमा युक्त गुरुङले नै संगीत भरेका छन्। दाजु र बहिनीबीचको सम्बन्धसंगै परदेशीको कथालाई दशैं तिहारसँग जोडेर यो गीत तयार पारिएको छ। गीत दसैंसंगै तिहारमा पनि उत्तिकै बज्दै आएको छ।

८. यसपालि दशैंमा
दसैंको अर्को सदावहार गीत हो, ‘यसपालि दशैंमा …’। गीतमा गायक वादल प्रसाइँको स्वर रहेको छ। गीतमा स्वर्गीय कुल पोखरेलको शब्द तथा संगीत छ।
२०५० को दशकमा रेकर्ड भएको गीतमा दसैंमा परदेशीएको सदस्यबाट परिवारले गर्ने अपेक्षालाई उतारिएको छ।]

९. ‘फौजीको दशैं’
यो गीत फौजीमा रहेका नेपालीको दसैंतिहारलाई समेटेर तयार गरिएको हो। दीपक कोइरालाको शब्द, गैह्रै सुरेशको संगीतमा जगदिश समालले यो गीत गाएका हुन्। गीतले दशैं तिहारमा पनि घर जान नपाउने फौजीको पीडा बोलेको छ। पछिल्ला वर्ष दसैं तिहारमा यो गीत सञ्चारमाध्यममा खुवै गुञ्जिने गर्छ।

१०. वर्षमा दिनैमा लै लै
दसैंको अर्को सदावहार गीत हो, ‘वर्षमा दिनैमा लै लै …’। रवी श्रेष्ठको शब्द रहेको गीतमा सुगम पोखरेलको संगीत तथा स्वर रहेको छ। गीतमा दशैं र तिहारमा परदेशीले घरपरिवारलाई सम्झेर पोखेको बेदना समेटिएको छ। झण्डै ६ वर्ष अगाडि भिडियोसहित यूट्युबमा सार्वजनिक गरिएको गीतले भ्यूअर्स राम्रो पाएको छ। भिडियोमा सुगम स्वयंमले अभिनय गरेका छन्। सबै उमेर समूहका दर्शकले रुचाएका छन् यो गीत।

यी बाहेक वालगीत ‘दशैं आयो, खाउँला पिउँला …’पनि दसैंमा बज्ने सदावहार गीत हो। अन्य केही गीतहरु छुटेका हुनसक्छन्। पाठकलाई कुनै गीत छुटेजस्तो लागे कमेन्ट गर्न सक्नुहुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *