एकसय वर्षीय ‘बा’ को दशैँ अनुभव: पहिलाको भन्दा अहिलेको दशैं रमाइलो

अमृत पौडेल
२१ असोज २०७६ ६:२४

अमृत पौडेल

काठमाडौँ । यतिबेला हिन्दू धर्मावलम्बीको महान चाड दशैँ शुरु भएको छ।  आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दशैँको नेपाली समाजमा विशेष महत्व छ।

देवी दुर्गाले बिनासकारी दानव महिषासुरको बध गरेर असत्यमाथी सत्यको जित गरेको सम्झनामा विजयादशमी मनाइँने गरिन्छ। त्यस्तै दशैँको प्रसंग रामायणसँग पनि जोडिएर आउने गर्दछ। पुरुषोत्तम रामले राक्षस रावणको बध गरेर विजय प्राप्त गरेको सम्झनामा पनि वडा दशैँ मनाइँने गरिएको धार्मिक विश्वास छ।

परापूर्व कालदेखि मनाइँदै आएको बडादशैँको अहिले पनि उत्तिकै महत्व छ। तर पछिल्लो सयम दशैँको मौलिकता हराउँदै गएको पनि कतिपयको गुनासो छ। समय परिवर्तनसँगै दशैँ मनाउने तरिकामा पनि भिन्नता देखिन थालेको छ। पहिले खेलिने लठ्ठे–रोटे पिङ, चङ्गाको महत्व पनि विस्तारै हराउँदै गएको छ। पछिल्लो समय दशैँमा घर घरमा चण्डी दुर्गा पाठ गर्ने प्रचलन छ भने एकसय वर्ष पहिले कोट घरमा मुखियाले चण्डी दुर्गा पाठ गर्ने प्रचलन रहेको ९८ वर्षीय बुद्धिसागर पौडेलले बताए ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १ साविक थप्रेक गाविस वडा नम्बर ५ चुयाविसाउनामा विं स. १९७९ साल साउन २४ गते जन्मिएका पौडेलले १५–१६ वर्षदेखि दशैँको टिका लगाउन पाएका छैनन्।

तर उनीसँग टिका लगाउनेको भने भीड भने लाग्ने गर्दछ। छोरा, बुहारी, नाती नातिनीको अथाह माया पाएका पौडेललाई आफूले टिका लगाउन नपाएकोमा कुनै दुखेसो छैन्। टिका लगाउन रहर लाग्दैन बा ? भनेर सोधिएको प्रश्नमा पौडेलले हाँस्दै भने, “म उमेरले १०० वर्ष लागिसके, म भन्दा जेठा कोही छैनन्। त्यसैले यो उमेरमा टिका लगाउन भन्दा लगाइदिन पाउदा नै खूशी लाग्छ।”

यस्तो छ ९७ वर्षीय बुद्धिसागर पौडेलको दशैँ अनुभव:-

घटस्थापनाको भोलिपल्ट जमरा
अहिले घटस्थापनाका दिन विधिवत रुपमा जमरा राखेपछि दशैँको शुभारम्भ हुने गर्दछ। तर पहिले घटस्थापनाको दोस्रो दिन अर्थात द्धितियामा जमरा राख्ने प्रचलन थियो। त्यो बेला मकैको जमरा राख्ने गरिन्थ्यो। द्धितियाका दिन गाउँको बाटो फाँड्ने (सफा गर्ने), फूलपाती अर्थात सप्तमीका दिन कोट घर (दुर्गा पाठ गर्ने घर) निर्माण गर्ने प्रचलन थियो। अष्टमीका दिन त्यही घरमा चण्डी पाठ गरिन्थ्यो। त्यो बेला गाउँका मुखियाले चण्डी पाठ गर्दथे। नवमीका दिन पाठो बली दिने चलन थियो।
बलीमा पाठो चढाएपछि उक्त पाठोको मासु (बिलो) गाउँका प्रत्येक व्यक्तिलाई प्रसादका रुपमा बाडिन्थ्यो। त्यसपछि दशमीका दिने सबैभन्दा पहिले घरमा कोट गएर टिका लगाउने गरिन्थ्यो। देवीको प्रसाद स्वरुप सबैभन्दा पहिले त्यहाँ टिका लगाउने प्रचलन थियो। कोट घरमा टिका ग्रहण गरिसकेपछि घरमा आफूभन्दा अग्रजबाट टिका लगाएर आर्शिवाद लिने प्रचलन थियो।

गाउँभर पुगेर मान्यजनको हातबाट टिका
बाल्यकालमा मान्यजनको हातबाट टिका लगाउन गाउँभर गइन्थ्यो। बिहान, दिउँसो वा बेलुकी जुन समयमा मिल्थ्यो त्यो समयमा आफूभन्दा अग्रज वा मान्यजनको हातबाट टिका लगाईन्थ्यो । मामा तथा ससुराली नजिक भएकाहरु त्यहाँ पनि टिका लगाउन जान्थे। तर हाम्रो भने मामाको घर अलि टाढा भएकाले प्रायः गाउँघरकै इष्टमित्र कहाँ गएर टिका ग्रहण गरी खूशी साट्ने गर्दथ्यौँ।

दशैँमा दक्षिणा
त्यो बेला टिका लगाएर सक्नेले ४ पैसा नसक्नेले १ पैसा दिने गर्दथेँ। दशैँमा मायाको घर जाँदा भने १ रुपैयाँसम्म दक्षिणा मिल्ने गर्दथ्यो। बाल्यकालमा टिका लगाएको दक्षिणा गन्न धेरै मजा आउँथ्यो। दशैँमा सबै दाजु भाइ तथा दिदी बहिनी जम्मा भएर कसको कति दक्षिण भयो ? भन्ने बारे निकै चासो हुन्थ्यो। त्यो बेला टिका लगाएको सबै दक्षिणा जम्माजम्मी ६, ७ रुपैयाँसम्म पुग्ने गर्दथ्यो। त्यति बेला त्यो पैसा निकै ठूलो थियो।

त्यो बेला कतिपयलाई चामलको भात खान पनि गाह्रो पर्दथ्यो। अरुबेला कोदोको ढिडो, मकैको भात खानेहरुले दशैँमा भने चामलको भात खाने व्यवस्था गर्दथे । त्यो बेला दशैँमा चामलको भात खान पाउनु नै उनीहरुका लागि निकै खूशीको कुरा हुन्थ्यो। तर हाम्रो घरमा भने कहिल्यै खानका लागि दुःख भएन्। पेटभरी खान मज्जाले पुग्थ्यो।
नैब्यध्य प्रसाद खाँदा खाँदा वाक्कै हुने दशैँमा प्रत्येकका घरमा टिका लगाउन जाँदा प्रसाद खाएर नसिकने । पेट टुन्न हुने सबैले खा खा भनेपनि खान सकिन्नथ्यो । टिका लगाएपछि उतिबेला सेल रोटी, दुध केरा, दही केरा, झिलिङ्गा, तरकारी, मासु, पूरी, अचार दिने गर्दथे । अरुबेला खान मनपर्ने भएपनि दशैँमा भने हेर्न मन पनि नलाग्ने हुन्थ्यो।

पहिले भन्दा अहिलेको दशैँ रमाइलो
मलाई पहिलेको भन्दा अहिलेको दशैँ रमाइलो लाग्छ। पहिले नयाँ कपडा लगाउन पाउदा दशैँ रमाइलो लाग्यो। तर अहिले नयाँ कपडा त लगाउछन्। तर कपडा सजिलै पाउन सकिन्छ। पहिले कपडा किन्न र सिलाउन पनि धेरै समय लाग्थ्यो। त्यो बेला अहिलेको जस्तो पसलहरु थिएनन्। जुन चीज किन्न पनि धेरै टाढा जानु पर्दथ्यो। अहिले सबै कुरा, सबै चीज घर नजिकै पाइन्छ। जतिबेला भन्यो, उतिबेला पाइन्छ। त्यो बेला धेरै दुख हुन्थ्यो। अहिले सुख छ। दक्षिणा पनि राम्रै पाइन्छ। सँधै काममा व्यस्त हुने छोराछोरीहरु दशैँ बिदामा घरमै बस्छन् ।

दशैँको टिका नलगाएको १५–१६ वर्ष भयो
दशैँमा मसँग टिका थाप्न धेरै जना आउँछन्। एक हिसाबले भन्दा टिका ग्रहण गर्नेको भिड नै हुन्छ। अरुलाई टिका लगाएर आर्शिवाद दिन पाउँदा निकै खूशी लाग्छ। तर मलाई भने टिका लगाउने कोही पनि हुँदैनन्। त्यसैले १५–१६ वर्षदेखि दशैँमा टिका लगाएकै छैन्। मन्दिरमा गए त गुरुको हातबाट टिका ग्रहण गर्न मिल्थ्यो। तर टिका लगाउनेको भिड र स्वास्थ्य अवस्थाका कारण मन्दिर जान पनि जान छोडेँ । त्यसैले अरुलाई टिका लगाएरै दशैँमा खूशी साट्छु।
१५–१६ वर्ष पहिले कास्कीको डोटेलकुना गाउँमा हुँदा नित्तलाल बा (नाताले कान्छा बा) सँग टिका थाप्ने गर्थे। तर पछि छोरासँगै काठमाडौँमै बस्न आएपछि भने खासै टिका लगाउन पाएको छैन्।

बाल्यकालमा दशैँ
बाल्य कालमा दशैँ भनेपछि पिङको सम्झना आउँछ। बाल्य कालमा लठ्ठे पिङ खुबै खेल्न गइन्थ्यो। गाउँमा पिङ हाल्नका लागि घरघरमा गएर बाब्बियो ल्याइन्थ्यो। म पनि बाब्बियो उठान अरुसँगै गएको पनि थिए।

घरमा बुवाले मासु खानु हुँदैनथ्यो । तर उहाँले नखाएपनि दशैँमा हाम्रा लागि सिङ्गै खसी ल्याइदिनुहुन्थ्यो। दशैँमा मासु प्रसस्त हुन्थ्यो। त्यो मासु कति पकाएर, कति सुकाएर खाने गरिन्थ्यो। अहिले त मैले मासु खान छोडिसके। गाउँमा दशैँमा दोहोरी पनि गाइन्थ्यो। केही शब्द अझै यादगर छन्, “मधेसी सूर्ति, नलगाउन धेरै फूर्ति” जस्ता टुक्का राखेर दोहोरी गाउने चलन थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *