हराएका ४८८ महिला तथा बालबालिका फेला

डिसी नेपाल
२२ असोज २०७६ २०:३१

दमौली । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन्।

आर्थिक वर्ष २०७४/७५ मा २५६, ०७५/७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६/७७ मा २९ जना महिला तथा बालबालिका हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। प्रहरी उपरीक्षक सिलवालका अनुसार आव ०७४/७५ मा २५६, ०७५/७६ मा २२२ र ०७६/७७ मा १० जना महिला तथा बालबालिका फेला परेका छन्।

सिलवालका अनुसार ०७४/७५ मा हराएकामध्ये छ र ०७६/७७ मा हराएकामध्ये १९ जना अझै पनि फेला पर्न सकेका छैनन्। “विसं ०७४/७५ मा हराएको निवेदन परेकामध्ये सबैलाई फेला पार्न सक्यौँ, हराइरहेका अन्य महिला तथा बालबालिकाको भने खोजी कार्य जारी छ”, प्रहरी उपरीक्षक सिलवालले भने।

कतिपयले हराएको निवेदन दिए पनि फेला परेपछि कार्यालयमा जानकारी नगराउने भएकाले तथ्याङ्कमा महिला तथा बालबालिका फेला नपरेको देखिएको हुनसक्ने प्रहरी उपरीक्षक सिलवालले बताए।

प्रहरी कार्यालयका अनुसार चालू आवमा २१ महिला, चार बालिका र चार ज्येष्ठ नागरिक हराएको निवेदन परेको छ। त्यसमध्ये पाँच महिला, तीन बालिका र दुई ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १६ महिला, एक बालिका र दुई ज्येष्ठ नागरिकको खोजी भइरहेको छ।

मुद्दा दर्ता बढ्दै

जिल्ला प्रहरी कार्यालय तनहुँमा वर्षेनी मुद्दा दर्ताको चाप बढ्दै गएको छ। प्रहरी कार्यालयको त्रिवर्षीय मुद्दा दर्ताको विवरणले जिल्लामा वर्षेनी मुद्दा दर्ताको सङ्ख्यामा वृद्धि भएको देखाएको छ। आव २०७३/७४ मा ३७९ मुद्दा दर्ता भएको कार्यालयमा ०७४/७५ मा ३७८ र ०७५/७६ मा ४३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक सिलवालका अनुसार चालू आव ०७६/७७ मा पनि ८४ वटा मुद्दा दर्ता भइसकेको छ। दर्ता भएका मुद्दामध्ये आव ०७३/७४ मा ३७८ फछ्र्यौट भई १, ०७४/७५ मा ३०७ फछ्र्यौट भई ७१ र ०७५/७६ मा ३६७ फछ्र्यौट भई ५६ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ भने चालू आवमा ५४ फछ्र्यौट भई ३० मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ।

कार्यालयमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती चोरी, लागुऔषधलगायतका मुद्दा बढिरहेको सिलवालले बताए।

गत आर्थिक वर्षमा प्रहरी कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा सवारी ज्यान र लागुऔषधको रहेको छ। उक्त अवधिमा सवारी ज्यानको ५१ र लागुऔषधको ४४ मुद्दा दर्ता भएको थियो। उक्त दुवै मुद्दा फछ्र्यौट भइसकेको सिलवालले जानकारी दिए।

त्यस्तै सोही अवधिमा जबर्जस्ती करणीको २२, जबर्जस्ती करणी उद्योगको छ, कर्तव्य ज्यानको १०, नकबजनी चोरीको १५, अभद्र व्यवहारको ३८, सार्वजनिक उपद्रयाइको २० मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजा फँडानी, विद्यालयमा सचेतना अभियान, लागुऔषध नियन्त्रण लगायतलाई प्राथमिकता दिएको छ।

साथै समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत जिल्लास्तर समिति बैठक, पालिकास्तरीय बैठक, अभिमुखीकरण लगायतका कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *