उप निर्वाचन : काँग्रेसले चयन गर्यो उम्मेदवारहरु

डिसी नेपाल
२७ असोज २०७६ १८:१२

चितवन । नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

काङ्ग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उम्मेदवारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई कांग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ ।

यी दुवै वडामा कांसले विजयी हासिल गरेको थियो । केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नं। ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

यस्तै कांग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ । काङ्ग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ ।

केही महिनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगका कारण निधन भएको थियो । गुरुङ तत्कालीन नेकपा ९एमाले० बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले कांग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए । अहिले कांग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उपनिर्वाचनका लागि तीनवटै वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने बताए ।

सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार नै कांग्रेसले उम्मेदवारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताए ।

जिल्ला सभापति श्रेष्ठले खैरहनीको दुवै वडामा यसअघि काङ्ग्रेसले जीत हासिल गरेकाले त्यहाँ पुनः जीत निश्चित जस्तै रहेको दाबी गरे । उनले कांग्रेसको मुख्य ध्यान भरतपुर–१६ मा केन्द्रित रहेको बताए । उनले भने, “खैरहनीमा हाम्रो जीत निश्चित जस्तै हो, भरतपुर–१६ मा जीत हासिल गर्ने गरी तयारी गरिरहेका छौँ ।” निर्वाचन आयोगले करिब २ वर्षपछि उपनिर्वाचनको तयारी गरेको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *