थाई राजपरिवारमा उथलपुथल

डिसी नेपाल
६ कार्तिक २०७६ १७:१७

बैंकक (एजेन्सी) । थाईल्यान्डका राजाले सोमवार आफ्नी एक उपपत्नीको राजकीय उपाधि तथा अन्य सबै पद खोसिदिएर धेरैलाई आश्चर्यचकित पारिदिए । वाचिरालंकन राजा बन्नुअघि सिनीनात वङ्वाचिराफाक नाम गरेकी ती महिला उनकी भित्रनी थिइन् ।

राज्याभिषेक भएको दुई महिनापछि गत जुलाई महिनामा राजाले उनलाई औपचारिक रूपमै उक्त उच्च सम्मान प्रदान गरेका थिए । राजाले सुथिदासँग विवाह गरेको घोषणा गरेर उनलाई महारानीको उपाधि दिएको केही समयपछि सिनीनातलाई आफ्नी उपपत्नीमा बढुवा गरेका थिए ।

महारानी सुथिदा उनकी चौथी पत्नी हुन् । यसअघि उनले आफ्ना तीन विवाहिता पत्नीलाई छोडिसकेका थिए । तर सिनीनातले महारानीसरहको स्थान खोजेको र उनको व्यवहार अपमानजनक भएको आरोपमा उनका सबै राजकीय उपाधि खोसिएको छ ।

सन् २०१६ मा आफ्ना पिताको देहान्त भएपछि वाचिरालंकनले थाईल्यान्डको राजगद्दी आरोहण गरेका थिए । थाई शाही कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ । कसैले त्यसो गरेमा धेरै वर्ष जेल सजाय हुन सक्छ । स्वर्गीय राजा पुमिपोनको अन्तिम संस्कारका बेला सिनीनात वङ्वाचिराफाक सैनिक पोसाकमा सार्वजनिक भएकी थिइन् ।

थाईल्यान्डमा राजगद्दीमा आसीन राजपुरुषले विधिवत् विवाह गरेकी पत्नीबाहेक अरू महिलालाई पनि विवाह गर्ने प्रचलन छ । राजाले ती महिलालाई औपचारिक रूपमा उपपत्नीको उपाधि दिन सक्छन् ।

चौतीस वर्षीया सिनीनात झन्डै एक शताब्दीमा थाईल्यान्डमा राजकीय उपपत्नीको उपाधि पाउने प्रथम महिला हुन् । जुलाईमा उनलाई त्यो उपाधि दिइएपछि उनी औपचारिक रूपमै राजाकी स्त्री बन्न पुगिन्, तर रानी चाहिँ बनिनन् । ऐतिहासिक रूपमा देशका विभिन्न प्रान्तका शक्तिशाली परिवारको आफूप्रति बफादारी कायम राख्न थाई राजाहरूले उपपत्नीहरू राख्ने गरेका थिए । शताब्दियौँदेखि थाई राजाहरूले बहुविवाह गर्ने र उपपत्नीहरू राख्ने गरेका थिए ।

यसअघि सन् १९२० को दशकमा थाई राजाले औपचारिक रूपमा उपपत्नीको चयन गरेका थिए । तर सन् १९३२ मा थाईल्यान्डमा राजतन्त्र संवैधानिक भएपछि शाही उपपत्नीको उपाधि दिइएको थिएन ।

सिनीनातलाई शाही उपपत्नीको उपाधि दिइएको बेला राजदरबारले उपलब्ध गराएको जानकारीबाहेक उनीबारे धेरै जानकारी उपलब्ध छैन । ‘दरबारले हामीलाई उपलब्ध गराएकोबाहेक हामीलाई उनको विगतबारे धेरै थाहा छैन,’ क्योटो विश्वविद्यालयका दक्षिणपूर्वी एशियाली अध्ययन केन्द्रका सहायक प्राध्यापक पाविन चाचाभाल्पोङ्पोन भन्छन् । उनको जन्म सन् १९८५ मा उत्तरी थाईल्यान्डमा भएको बताइन्छ ।

उनी पहिला नर्सको काम गर्थिन् । तर तत्कालीन युवराज वाचिरालंकनसँग सम्बन्ध गाँसिएपछि उनको सम्बन्ध सैनिक जीवन र सुरक्षा संयन्त्रसँग जोडिन पुग्यो । उनी अंगरक्षक, विमानचालक र प्यारश्यूटिस्ट हुँदै शाही रक्षक बनिन् । यसै वर्षको सुरुमा उनी मेजर जेनरल बनिन् । उनका लागि ‘चाओ खुन फ्रा’ अर्थात् ‘शाही उपपत्नी’को उपाधि सर्वोच्च सम्मान थियो ।

लगत्तै दरबारले उनको औपचारिक व्यक्तिगत विवरणसँगै विभिन्न तस्बिरहरू सार्वजनिक गरिदियो । त्यस क्रममा उनले लडाकु विमानमा बसेर खिचाएको तस्बिर पनि सार्वजनिक गरियो । तर अहिले ती तस्बिरहरू दरबारको वेबसाइटबाट हटाइएको छ ।

राजपत्रमा जनाइएअनुसार राजाप्रति ‘दुव्र्यवहार र विश्वासघात’ गरेको हुनाले सिनीनातका सबै शाही र सैन्य उपाधि खोसिएको छ । उनी ‘महत्वाकांक्षी’ बनेको र उनले ‘महारानीसरहको हैसियत लिने प्रयास’ गरेको उल्लेख गरिएको छ । ‘शाही उपपत्नीको व्यवहार सम्मानजनक नभएको’ र उनी ‘राजा र रानीप्रति बफादार नभएको’ पाइयो । उनले राजाको नाम लिँदै आफूले आदेश दिने गरेको बताइएको छ ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयमा इतिहासकी प्राध्यापक तामारा लुसका अनुसार दरबारमा साँच्चै के भएको थियो भन्ने कुरा पारदर्शी छैन । ‘यस्ता परिस्थितिहरूमा प्रायः पर्दापछाडिबाट कसैले औधी धेरै हैकम चलाउने प्रयास गरिरहेको हुन्छ ।

सिनीनात त्यस्तै अवस्थामा परेकी हुन सक्छिन् र उनले त्यसलाई आफूप्रतिकूल हुनेगरी चलाएको हुन सक्छ,’ उनले भनिन् । उनको विचारमा दरबारभित्र गुटबन्दी पनि भएको हुन सक्छ । थाई राजदरबारले जारी गरेको विज्ञप्तिले थाईल्यान्डमा अझै सक्रिय आधुनिक राजतन्त्रको उदय हुन लागेको संकेत गर्छ ।

सिनीनातलाई सबै पद र उपाधिबाट च्युत गरिएको छ । तर अब उनलाई के होला भन्ने कुरा स्पष्ट छैन । ‘अब उनलाई के होला हामी यसै भन्न सक्दैनौँ,’ पाविन भन्छन् । उनका विचारमा अब लिइने निर्णय अपारदर्शी नै हुन सक्छ । जसरी उनको विगतबारेको सूचना दरबारको नियन्त्रणमा थियो, उनको भविष्यबारे पनि त्यसै हुन सक्ने अनुमान गरिएको छ । वर्तमान थाई राजाले चार पटक विवाह गरे ।

राजकुमारी सोमसवालीसँग उनको वैवाहिक सम्बन्ध १९७७ देखि १९९३ सम्म रह्यो । सिनीनातको घटुवा प्रकरण राजा वाचिरालंकनका दुई पूर्वपत्नीसँग सम्बन्धित घटनासँग मिल्दोजुल्दो छ । सन् १९९६ मा उनले आफ्नी दोस्रो पत्नी सुचारिनी विवाचारावोङलाई परित्याग गरेका थिए ।

उनको अर्को नाम युवाथिदा फोल्प्रसिथ हो । पतिले छोडेपछि उनी भागेर अमेरिका पुगिन् । वाचिरालंकनले उनीबाट जन्मिएका चार छोरालाई पनि अस्वीकार गरिदिए । सन् २०१४ मा उनले आफ्नी तेस्री पत्नी श्रीरात सुवादीको उपाधि पनि खोसिदिएका थिए । त्यसपछि उनी कहाँ छिन् कसैलाई थाहा छैन । उनका मातापितालाई राजद्रोहको कसुरमा करागार हालियो । तर उनीबाट जन्मिएका १४ वर्षीय छोरालाई राजाले हुर्काइरहेका छन् ।

उनका पूर्वपत्नीहरूले आफूले भोगेको परिस्थितिबारे केही कुरा पनि सार्वजनिक गरेका छैनन् । राजगद्दीमा बसेदेखि नै महा वाचिरालंकनले आफ्ना पिताको तुलानामा शक्तिको प्रयोग अलि धेरै नै गरिरहेका छन् । यो वर्षको सुरुमा राजधानी बैंककका दुई सैनिक एकाइलाई उनले सीधा आफ्नो नियन्त्रणमा राखे। त्यसअघिका राजाले सेनालाई त्यसरी आफ्नो नियन्त्रणमा राखेका थिएनन् ।

‘सिनीनातलाई त्याग गर्दा क्रूर र कडा भाषा प्रयोग गरेर राजा आफूले दिएको दण्डलाई वैधता दिन चाहन्छन्,’ पविन भन्छन् । थाई राजद्रोहसम्बन्धी कानुनअनुसार अहिले गरिएको शाही उपपत्नीको घटुवाबारे पनि देशमा सार्वजनिक बहस गर्न वर्जित छ । तर पर्यवेक्षकहरू भन्छन् अहिलेको घटना थाई जनताको मस्तिष्कमा गढेर बसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *