ट्रम्पको तनाव बढ्यो, युक्रेनलाई दबाब दिएको दावी

डिसी नेपाल
६ कार्तिक २०७६ २०:२१

वाशिङ्टन (बीबीसी) । आफ्ना एक राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धान गर्ने प्रतिबद्धता युक्रेनले व्यक्त गरेपछि मात्र अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने सर्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राखेको बयान अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले दिएका छन् ।

निमित्त राजदूत बिल टेलरले ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनका आफ्ना सम्भावित प्रतिद्वन्द्वी भूतपूर्व उपराष्ट्रपति जो बाइडनमाथि युक्रेनले अनुसन्धान गरोस् भन्ने चाहेको आफूलाई बताइएको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने विषयमा भइरहेको छानबिनका क्रममा युक्रेनका लागि अमेरिकी राजदूत बिल टेलरले बयान दिएका हुन् । उनले अमेरिकाको घरेलु राजनीतिक कारणले युक्रेनसँगको कूटनीतिक सम्बन्धलाई आधारभूत रूपमै ध्वस्त पारिएको बताए ।

युक्रेनसँगको नीतिमा कुनै लेनदेन नभएको ट्रम्पको दाबी छ । यसअघि ट्रम्पले युरोपेली संघका निम्ति अमेरिकी राजदूतलाई कंग्रेसले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए । संसद्मा हालै लिएका बयानहरूबारे प्रतिक्रिया जनाउँदै ह्वाइट हाउसकी एक प्रवक्ता स्टेफनी ग्रिशमले विज्ञप्तिमा भनिन्, ‘राष्ट्रपति ट्रम्पले केही पनि गलत गरेका छैनन् । यो अतिवामपन्थी सांसदहरू र निर्वाचित नभएका उग्र कर्मचारीले गरेको संयोजित भ्रामक अभियान हो ।’

टेलर गत जुन महिनामा युक्रेनका लागि अमेरिकी दूत बनेका हुन् । उनी ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिनमा बयान दिने पछिल्ला व्यक्ति हुन् । राष्ट्रपति ट्रम्पविरुद्ध शक्तिको दुरुपयोग गरेको आशंकामा डेमोक्र्याट नेतृत्वको समितिले महाभियोगसम्बन्धी उजुरीमाथि छानबिन गर्नुअघि टेलरले बयान दिएका हुन् । राष्ट्रपति ट्रम्प र युक्रेनका नयाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच जुलाई २५ मा भएको टेलिफोन संवादको लिखित विवरणले ट्रम्पले बाइडन र उनका छोरा हन्टरविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्न आह्वान गरेको देखाउँछ । बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनुपर्छ भनेर प्रत्यक्ष आह्वान गरिसकेका छन् ।

डेमोक्र्याटहरूले कंग्रेसमा थालेको महाभियोगको छानबिनलाई ह्वाइट हाउसले नसघाउने जनाएको छ ।

बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन् । हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए । त्यति बेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए । अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमोक्र्याटिक उम्मेदवारको प्रबल दाबेदार हुन् ।

गत महिना अमेरिकी सञ्चारमाध्यमले एक गुप्त सुराकीले विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेको जनाएका थिए । अमेरिकी राष्ट्रपतिले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाव दिएको समाचारहरूमा उल्लेख थियो । ट्रम्प प्रशासनले सुराकीको उजुरी कंग्रेसलाई हस्तान्तरण गर्न रोकिरहेको विवरण बाहिर आएको थियो ।

सन् २०१४ मा हन्टर बाइडनले युक्रेनमा काम गरिरहेको कम्पनीमा काम थाल्दा अमेरिकी उपराष्ट्रपति रहेका उनका बुवाका निम्ति सम्भावित स्वार्थ बाझ्ने विषयमा प्रश्नहरू उठाइएको थियो । रुसको समर्थन प्राप्त राष्ट्रपति हटाइएपछि युक्रेन राजनीतिक संक्रमणमा थियो र बाइडनले पटकपटक त्यहाँको भ्रमण गरेका थिए । सन् २०१६ मा जो बाइडनले युक्रेनी सरकारलाई त्यहाँका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न दबाव दिएका थिए । ती अभियोजनकार्ताको कार्यालयले बाइडनका छोरा संलग्न कम्पनीमाथि छानबिन गरिरहेको थियो । गत वर्ष एउटा थिंक ट्यांकरमा दिएको भाषणमा बाइडनले अभियोजनकर्तालाई निकाल्न अर्बौँ डलरको जमानत रोक्का गर्ने चेतावनी दिएको बताएका थिए ।

उनले भनेका थिए, ‘मैले उनीहरूलाई हेरेँ र भनेँ – छ घण्टामा म फर्किँदैछु । यदि अभियोजनकर्तालाई बर्खास्त गरिएन भने तपाईँहरूले पैसा पाउनु हुने छैन ।’ भ्रष्टाचारविरोधी प्रयासमा बाधकको बनेको ठानेर कैयौँ पश्चिमा सरकारहरू र ठूलो लगानीकर्ता युक्रेन सरकार पनि ती अभियोजनकर्तालाई हटाउन चाहन्थे । तर ट्रम्प र उनका सहयोगीहरू बाइडनले छोरालाई जोगाउन त्यस्तो कदम चालेको आरोप लगाउँछन् । यो वर्षको मे महिनामा युक्रेनका तत्कालीन प्रमुख अभियोजनकर्ताले जो र हन्टर बाइडनले अनुचित काम गरेको प्रमाण नभएको बताएका थिए । जो बाइडनले आफूले कहिल्यै पनि छोरासँग उनको व्यापारबारे कुरा नगरेको बताएका छन् ।

ह्वाइट हाउसले युक्रेनलाई दिने २५ करोड डलरसम्मको सैन्य सहायतामा अस्थायी रोक लगाउने निर्णय गरेकै समयमा दुई राष्ट्रपतिबीच उक्त विवादित फोनवार्ता भएको संयोग देखिएको छ । अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सहायता निलम्बन गर्ने निर्णय जुलाई २५ मा भएको फोनवार्ताअघि भएको थियो र दुई नेताहरूको संवादमा त्यसबारे कुरा भएको कुनै संकेत छैन ।

सहायता ढिलाइको द्विपक्षीय आलोचनाबीच गत महिना युक्रेनका निम्ति २५ करोड डलर अनुमोदन गरिएको थियो । ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग कुराकानीका क्रममा ‘युक्रेनमा पहिल्यै भ्रष्टाचार सिर्जना गरेका उपराष्ट्रपति बाइडन र उनका छोराले जस्तो आफ्ना नागरिकबाट नहोस् भन्ने कुरा’ र भ्रष्टाचारको प्रसंग राखेको बताएका थिए । तर उनले आफूलाई महाभियोग लगाउने चेतावनीलाई गम्भीरतापूर्वक नलिएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *