‘मिष्टर नेपाली’ डेब्यू कलाकार साहिल र कुसुम, भन्छन् –‘चलचित्रका लागि कडा मेहनत गरेका छौं’

डिसी नेपाल
६ कार्तिक २०७६ २०:२८

काठमाडौं। चलचित्र ‘मिष्टर नेपाली’ यहि कात्तिक २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ।

चलचित्रमार्फत साहिल श्रेष्ठ र कुसुम राउतले नेपाली रजतपटमा डेब्यू गर्दैछन्।

चलचित्रलाई लिएर दुवै कलाकारमा एकखालको डर छ, अनि उत्साहित पनि उत्तिकै छन्। डिसी नेपालसंगको कुराकानीमा आफूहरुको पहिलो चलचित्र भएको हुनाले कस्तो हुने हो भन्ने मनमा कताकता डर लागेको उनिहरुले बताए। अर्कोतर्फ राम्रो कथावस्तुमा चलचित्र निर्माण भएको बताउँदै दर्शकले मन पराउनेमा आशा ब्यक्त गरे।

‘चलचित्रले राष्ट्रियताको कथा भन्छ। साथै दर्शकलाई गहन सन्देश प्रवाह गर्छ। चलचित्रको लागि मेहनत पनि निकै गरेको छु। दर्शकले मन पराउनेमा पूर्ण आशावादी छु’– साहिल भन्छन्।

उनि चलचित्रमा आफू विदेशबाट धेरै वर्षपछि आफ्नो देश नेपाल फर्किएको पात्रको भूमिकामा देखिएको बताए।

यता, चलचित्रमा आफू आत्मनिर्भर गाउँले युवतीको भूमिकामा देखिएको बताउँछिन् कुसुम। भन्छिन् –‘आफ्नो पात्रलाई न्याय गर्न सक्दो मेहनत गरेकी छु। जुन दर्शकले मन पराउनुहुनेछ भन्नेमा आशावादी छु।’

चलचित्रको छायाँकनको क्रममा एकअर्कालाई सक्दो सहयोग गरेको दुबै कलाकार बताउँछन्। ‘एकअर्कामा सहयोग गथ्र्यौ। कमीकमजोरीहरु औल्याउँथ्यौं’–उनीहरु एकसाथ भन्छन्।

दुवैको चाहना चलचित्र क्षेत्रमा भविष्य बनाउनु छ। त्यसका लागि कुसुमले सरोज खनालको माला आर्टस एकेडेमीमा अभिनय प्रशिक्षण लिईरहेकी छन्। यता साहिल पनि ‘मिष्टर नेपाली’प्रदर्शनपश्चात अभिनय प्रशिक्षण लिने सोँचमा छन्।

दर्शकको प्रतिक्रियाअनुसार आफ्ना कमीकमजोरीहरु सुधार्दै अगाडी बढने उनीहरुको भनाई छ।

देवचुली फिल्मस्को ब्यानरमा देव भुषालको लेखन तथा निर्देशनमा बनेको ‘मिष्टर नेपाली’मा भुवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रवी डंगोल लगायतको अभिनय छ। अग्रह कलाकारहरुसंग पर्दा शेयर गर्न पाएकोमा साहिल र कुसुम आफूलाई ‘लक्की’ मान्दै चलचित्रबाट धेरै कुराहरु सिक्न पाएको बताउँछन्।

चलचित्रको निर्माता प्रेमराज दाहाल हुन्।

बिहीबार चलचित्रको ट्रेलर सार्वजनिक हुँदैछ। विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने कथामा चलचित्र निर्माण भएको बताईएको छ।

तस्वीर : आर्यन धिमाल/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *