यु–१९ राष्ट्रिय खुला बक्सिङ शुरु
काठमाडौं। नेपाल बक्सिङ संघको प्राविधिक सहयोग तथा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता शनिबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङ प्रमुख प्रशिक्षक प्रकाश थापा मगरलाई खेल सामाग्री हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे ।
प्रतियोगितामा १ सय ७ खेलाडीको सहभागिता रहेको छ । पुरुषमा ७ तथा महिलामा ६ गरी १३ स्पर्धा समावेश छन् ।
पहिलो दिन पुरुष ५६ केजीमा बौद्धका सोनाम शेर्पाले पूर्वी रुकुमका विजयबहादुर घर्ती मगर, टीकाथलीका अनुज कार्कीले भक्तपुरका साइरस भुजु, पोखराका जिनेश गुरुङले थानकोटका अनमोल गोपाली, कञ्चनपुरका जीवन चन्दले उदयपुरका कपिल राई र झापाका भुगोल लिम्बूले बोसीगाउँका शुलभ मालाकारलाई पराजित गरे ।
पुरुष ६० केजीमा बानुजका सिरश महर्जनले गुल्मीका टेकन राहाधी, उदयपुरका सन्जोक लामाले सुर्खेतका नवीण आयाम र बाँकेका इन्द्रबहादुर सुनुवारले बोसीगाउँका संगम आले मगरलाई हराए । पुरुष ४९ केजीमा झापाका धर्मेन्द्र राईले मकवानपुरका जविनजंग पाख्रिन, उदयपुरका लक्ष्मण राईले जिमखानाका रविन थापा र दाङका सुरज ओलीले बाँकेका अभिषेक वाइबा तामाङलाई पाखा लगाए ।
पुरुष ५२ केजीमा मकवानपुरका अनन्त ओझाले कञ्चनपुरका प्रदीप चन्द, दमकका रोहन मलिकले बाँकेका सुनीलकुमार बडईं, अल्टिमेटमका अर्जुन तामाङले पोखराका रेकबहादुर गुरुङ, झापाका प्रवीण बयल्कोटीले नक्सालका यानब थुलुङ राई, कास्कीका सुरज गुरुङले सुनसरीका विवेक योल्मो र कैलालीका कृष्ण भट्टराईले थानकोटका अविज्ञान गोपालीलाई पन्छाए ।
महिला ४८–५१ केजीमा सुनसरीकी प्रभा निरौलाले पूर्वी रुकुमकी कलपना सुनारलाई पराजित गरिन् । प्रतियोगिता बुधबार सम्पन्न हुने छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment