यौन काण्डः महराको थुनछेक बहस सकिएन, सोमबार पनि बहस हुने

डिसी नेपाल
१७ कार्तिक २०७६ १६:४९

काठमाडौं। जवरजस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबार नसकिएपछि सोमबार पनि बहस हुने भएको छ।

आइतबार शुरु भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरामाथि परेको मुद्दाको सुनुवाइ भइरहेको छ।

शुक्रबार महराको बन्द इजलासमा बयान भएको थियो। महराले आफुमाथि लागेको आरोपमाथि इन्कारी बयान दिएका छन्।

महरामाथि यौन दुराचारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन्।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाई लगायतले बहस गर्ने छन्।

सरकारी वकिलको तर्फबाट आइतबार बहस सकिएपछि महराको तर्फबाट वरिष्ठ अधिवक्ता भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका छन्। अन्य अधिवक्ताको बहस सोमबार हुने छ।

सोमबार थुनछेक बहस सकिएमा थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश जिल्ला अदालतले गर्ने छ।

महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।

यसअघि, कात्तिक ७ गते काठमाडौं जिल्ला अदालतले महरालाई थप ७ दिन अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको थियो। २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि बिहीबार महराविरुद्ध मुद्दा दायर गरिएको थियो।

हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। असोज ३ गते उनलाई नर्भिकबाट सिधै जिल्ला अदालत लगिएको थियो। त्यसपछि उनलाई ५ दिन म्याद थप गरिएको थियो।

गत असोज १२ गते आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिटसमेत गरेको उनले आरोप लगाएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *