मिडिया र राजनीतिक नेतृत्वमाथिको त्रासप्रति एमालेको आपत्ति, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

डिसी नेपाल
३० असार २०८३ ११:५३

काठमाडौं। नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले सञ्चारगृहका कार्यालय र राजनीतिक नेतृत्वको निवास अगाडि सवारी साधन तेर्स्याएर मानसिक त्रास फैलाउने कार्यमा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ठगुन्नाले यस घटनालाई पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवातको झझल्कोका रूपमा टिप्पणी गरे।

हेर्दा सांकेतिक रूपको सानो घटना जस्तो देखिए पनि यसले समाजमा गम्भीर मनोवैज्ञानिक त्रास बढाउने भन्दै उनले सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिए।

राज्य संयन्त्र पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण ढंगले परिचालन भइरहेको आरोप लगाउँदै उनले पर्याप्त अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा अभियोजन लगाउनुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा पहिले गिरफ्तार गर्ने र अनि मात्र अनुसन्धान गर्ने उल्टो विधि अपनाइएको भन्दै आपत्ति जनाए।

यसका साथै श्रमजीवी वर्ग, बेरोजगार युवा र सुकुम्वासीहरू प्रति राज्यले लिएको नीति उचित नभएको भन्दै उनले सरकारको व्यवहारको आलोचना गरे।

संसद बैठकको सुरुवातमै सभामुख डीपी अर्यालले उपलब्ध गराएको विशेष समयमा बोल्दै सांसद ठगुन्नाले एमालेको तर्फबाट प्रधानमन्त्रीको देशहित विपरीतको अभिव्यक्ति फिर्ता लिन र त्यसलाई संसद्को रेकर्डबाट हटाउन समेत जोडदार माग गरे।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेनले संसद्मा आएर आफूले दिएको विवादास्पद अभिव्यक्तिप्रति माफी माग्नुपर्ने माग राख्दा समेत यतिका समयसम्म कुनै सुनुवाइ नहुनु अत्यन्त दुःखद् भएको उनले बताए।

प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिई देशवासी समक्ष माफी नमागेसम्म र संसद्को रेकर्डबाट उक्त भनाइ नहटाइए सम्म नेकपा एमालेको विरोध निरन्तर कायम रहने जानकारी पनि उनले सदनलाई गराए।

प्रधानमन्त्री बालेनले संसद्को रोस्टमबाट दिएको अभिव्यक्तिले नेपालको मिचिएको भूमि फिर्ता लिने राष्ट्रिय प्रयासमा गम्भीर धक्का पुगेको दाबी समेत सांसद ठगुन्नाले गरे।

भारतले मात्रै होइन, नेपालले पनि कतिपय ठाउँमा सीमा मिचेको रहेछ भन्ने खालको मन्तव्य देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सार्वभौम संसद्को रोस्टमबाट व्यक्त गर्दा नेपाली राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको उनको भनाइ थियो।

सीमा जस्तो संवेदनशील विषयमा यस्ता गैरजिम्मेवार अभिव्यक्ति आउनु राष्ट्रिय हित अनुकूल नभएकाले यसलाई तत्काल सच्याउनु पर्ने अडान एमालेले राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *