इरानको सैन्य नेतृत्व र हवाई प्रतिरक्षा प्रणाली पूर्ण रूपमा ध्वस्त भएको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको दाबी गरेका छन्।
अमेरिका र इरानबीच जारी युद्धकालीन तनावका बीच राष्ट्रपति ट्रम्पले इरानका पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनी पनि ‘९० प्रतिशत समाप्त’ भइसकेको टिप्पणी गरेका हुन्।
यसका साथै राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानमाथि पुनः नौसैनिक नाकाबन्दी लगाउने र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट जलमार्गबाट गुज्रिने व्यापारिक जहाजहरूबाट सुरक्षाबापत रकम असुल गर्ने घोषणा गरेका छन् जसप्रति इरानले तीव्र आक्रोश व्यक्त गरेको छ।
अमेरिकी सञ्चारमाध्यम ‘फक्स न्युज’ लाई दिएको एक विशेष अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले हालै अमेरिका र इजरायलले गरेका संयुक्त सैन्य आक्रमणहरूले इरानको सैन्य सामर्थ्यलाई नराम्ररी क्षतविक्षत पारेको दाबी गरे।
‘इरानसँग अब न त नौसेना बाँकी छ, न वायुसेना र उसको हवाई प्रतिरक्षा प्रणाली समेत पूर्ण रूपमा ध्वस्त भइसकेको छ,’ ट्रम्पले भने। राष्ट्रपति ट्रम्पले इरानका अधिकांश शीर्ष नेताहरू मारिइसकेको र सर्वोच्च नेता खामेनीको पनि अन्त्य भइसकेको दाबी गरे।
उल्लेख्य छ कि गत फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका र इजरायलद्वारा गरिएको पहिलो चरणको शक्तिशाली हवाई आक्रमणमा अली खामेनी मारिएका थिए।
राष्ट्रपति ट्रम्पले अली खामेनीका सम्भावित उत्तराधिकारी मानिएका उनका छोरा मोजतबा खामेनीको शक्ति र अस्तित्व पनि अब लगभग समाप्त भएको दाबी गरे। प्राप्त विवरणहरूका अनुसार मोजतबा एक हवाई आक्रमणमा गम्भीर घाइते भएका थिए र सोही कारण उनी आफ्ना पिताको अन्तिम संस्कारमा समेत सहभागी हुन सकेका थिएनन्।
गत साताको अन्त्यतिर अमेरिका र इरानबीच पुनः सुरु भएको शृङ्खलाबद्ध सैन्य आक्रमणका कारण खाडी क्षेत्रमा तनाव चरम सीमामा पुगेको छ। यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिका नै होर्मुज स्ट्रेटको वास्तविक ‘रक्षक’ बन्ने घोषणा गर्दै यो अन्तर्राष्ट्रिय जलमार्ग सधैँ खुला रहने तर इरानी जहाजहरूलाई भने पूर्ण रूपमा प्रतिबन्ध लगाइने स्पष्ट पारे। साथै, उनले उक्त जलमार्ग प्रयोग गर्ने अन्य मुलुकहरूसँग सुरक्षाबापत २० प्रतिशत रकम माग्ने प्रस्तावसमेत अघि सारेका छन् ।
अमेरिकी राष्ट्रपतिको यस अभिव्यक्तिप्रति इरानका विदेश मन्त्री अब्बास अराघचीले कडा आपत्ति जनाएका छन् । विदेश मन्त्री अराघ्चीले होर्मुज स्ट्रेटको वास्तविक र ऐतिहासिक संरक्षक इरान मात्रै रहेको र भविष्यमा पनि इरान नै रहने प्रस्ट पारे।
अमेरिकी राष्ट्रपतिले दाबी गरेको २० प्रतिशतको रकम अत्यधिक र नाजायज भएको टिप्पणी गर्दै उनले अमेरिकी कदमको घोर भर्त्सना गरेका छन् ।






डिसी नेपाल





Facebook Comment