बलियो एमसीसीविरुद्ध नेपाल यु–१९को सम्मानजनक २९६ रन, ३८ रनले पराजित

डिसी नेपाल
१७ कार्तिक २०७६ १६:५४

काठमाडौं । विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को बलियो टिमविरुद्ध विशाल लक्ष्य पच्छ्याएको नेपाली अण्डर १९ टिमले सम्मानजनक स्कोर बनाएको छ । ३८ रनले पराजित भएर पनि नेपाली टिमको प्रदर्शन सम्मानजनक रह्यो। नेपाल अण्डर १९ ले निर्धारित ५० ओभरमा २९६ रन बनायो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २९६ रन बनाएको हो । नेपालका लागि हरिबहादुर चौहानले अर्धशतकसमेत बनाए ।

मेरिलेबोन क्रिकेट क्लवको यो टिममा निकै उत्कृष्ट खेलाडीहरु छन् । इङल्याण्डको अण्डर १९ राष्ट्रिय टिमका कप्तान रहिसकेका खेलाडीदेखि इङल्याण्डको सिनियर टिमबाट खेलेका खेलाडी र पाकिस्तानको राष्ट्रिय टिमबाट टेस्ट खेलिसकेका खेलाडीको अगाडि नेपालका १९ वर्षमुनिका कलिला खेलाडीहरु टिक्नु निकै कठिन थियो ।

यद्यपि नेपाली युवा खेलाडीहरु एमसीसीको टिमविरुद्ध पूरै ५० ओभर खेले । बलियो टिमविरुद्ध अलआउट नभइ पूरै ५० ओभर खेल्नु नेपाली टिमको बलियो पक्ष रह्यो । यसबाहेक नेपाली खेलाडीहरुले टिकेर मात्र खेलेनन् टिमको रनरेट पनि कायमै राखे । एकदिवसीय क्रिकेटमा २९६ रन ठूलो स्कोर मानिन्छ । झण्डै ६ रन प्रतिओभरका दरले नेपालले बनाएको यो स्कोर एकदिवसीय क्रिकेटमा डिफेण्ड गरेर खेल जित्न सकिने स्कोर मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *