१४ क्लबको एएफसी लाइसेन्स अस्वीकृत

डिसी नेपाल
१७ कार्तिक २०७६ २१:५६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ ए डिभिजन क्लबले एएफसी लाइसेन्सका लागि दिएको निवेदन अस्वीकृत गरेको छ ।

एन्फाको क्लब लाइसेन्सिङ कमिटिको बैठकले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाइसेन्सको सिफारिस नगर्ने निर्णय गरेको हो ।

गलत तरिकाले क्लबलाई लाइसेन्स वितरण गरेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई ठुलो रकमको आर्थिक जरिवाना गरेपछि एन्फा क्लब लाइसेन्सको सिफारिस गर्न हच्किएको हो ।

एन्फाले गत वर्ष ए डिभिजनका ९ क्लबलाई एएफसीको क्लब लाइसेन्सका लागि प्रस्ताव गरेको थियो ।

तर न्युनतम शर्त समेत पुरा नगरि लाइसेन्स सिफारिस गरेको भन्दै एएफसीले एन्फालाई तत्काल १० हजार डलर जरिवाना गरेको थियो । गल्तीमा सुधार नगरेमा प्रतिबन्ध सहित ३५ हजार भन्दा बढी जरिवाना गर्ने निर्णय गरेको थियो ।

करिब दुई हप्ता अघि १० हजार डलर आर्थिक कारबाहीमा परेको एन्फाले लाइसेन्सका लागि सिफारिसका लागि निवेदन दिएका १४ क्लबको प्रस्ताव अस्विकृत गरेको हो ।

एन्फाका अनुसार मनाङ, थ्री स्टार, पुलिस, जावलाखेल, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, ब्रिगेड ब्वाईज, आर्मी, एपीएफ, मछिन्द्र, न्युरोड टिम, च्यासलले अर्को सिजनकालागि एएफसीको लाइसेन्सको आवेदन दिएका थिए ।

एन्फाले राष्ट्रिय लिगपछि अर्को बर्ष क्लब लाईसेन्सको न्युनतम शर्तहरु कार्यान्वयनको चरणमा लैजाने योजना रहेको बताएको छ ।

एएफसीको क्लब लाईसेन्स नपाएपछि अब कुनैपनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न पाउने छैनन् ।

लिग च्याम्पियनको हैसियतमा ए डिभिजन क्लबले एएफसी कप खेल्दै आएका थिए ।

तर अब एएफसीको क्लब लाईसेन्स नपाएपछि एएफसीले आयोजक गर्ने एएफसी कप नेपाली क्लबले खेल्न पाउने छैनन् ।

एएफसीले सन् २०१९ सम्म क्लब लाइसेन्सिङ प्रणाली लागु गर्न सम्बद्व सम्पुर्ण फुटबल संघलाई निर्देशन दिएको थियो । तर नेपालमा क्लब लाइसेन्सका लागि न्युनतम शर्त पुरा गर्ने एउटा समेत क्लब छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *