नेपाली क्रिकेटमा खटपटः एमसीसीविरुद्ध पारस, सन्दिप र सोमपाल किन खेलेनन् ?

डिसी नेपाल
१८ कार्तिक २०७६ ११:२२

काठमाडौं। लिगेसी टुर अन्तर्गत नेपाल आएको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी)विरुद्धको ५० ओभरको खेलमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र स्टार बलर सन्दिप लामिछाने र स्ट्राइक बलर सोमपाल कामी खेलेनन् । आजको खेलमा उनीहरु खेल्ने अपेक्षा गरिएपनि अन्तिम प्लेइङ ११ मा उनीहरुलाई नदेखेपछि फ्यानहरु निराश भएका थिए ।

एमसीसीसँग हुने तीन खेलमध्ये पारस यही एकदिवसीयको टिममा मात्र थिए । यसबाहेक टि–२० र तीन दिवसीय खेलमा पारस टिममै छैनन् । आज नखेलेपछि पारस एमसीसीविरुद्ध कुनै पनि खेलमा खेल्ने छैनन् । यी तीन खेलाडी नखेलेकोबारे नेपाली राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमण शिवाकोटीले स्पष्ट जवाफ दिएनन् । ‘सन्दिप र पारस किन खेलेनन् भन्ने जानकारी छैन सोमपाल भने चोटग्रस्त छन्’ उनले भने ।

क्यान उच्च स्रोतका अनुसार पारस र सन्दिप नखेल्नुको मुख्य कारण अबुधाबीमा हुन लागेको टि–१० लिग हो । टि–१० लिग सुरु हुन २ हप्ता मात्र बाँकी छ । लिग यही नोभेम्बर १९ बाट सुरु हुँदैछ । यही लिग खेल्न फिट रहनको लागि पारस र सन्दिपले नेपालको राष्ट्रिय टिमबाट नखेलेका हुन् ।

यतिमात्र होइन उनीहरुले आगामी नोभेम्बर १४ देखि सुरु हुने एसीसी इमर्जिङ टिम एसिया कप पनि नखेल्न क्यानसँग अनुमति मागेका छन् । ‘पारस र सन्दिप दुवैले एसीसी इमर्जिङ कप पनि नखेल्ने गरी टिमबाट विदा माग्दै क्यानमा निवेदन दिएका छन्’ क्यान उच्च स्रोतले नाम उल्लेख नगर्नेगरी डिसीनेपालसँग भन्यो ‘सम्भवतः उनीहरुलाई यी खेल खेल्दा घाइते भएर टि–१० लिग खेल्न पाउँदिन कि भन्ने डर भएको होला ।’

यता क्यानले उनीहरु दुवैसँग टि–१० लिगका फ्रेन्चाइजीसँग भएको सम्झौताको प्रतिलिपि मागेको छ । क्यानले यो सम्झौता अध्ययन गरेपछि मात्र उनीहरुलाई विदा दिने वा नदिने टुंगो लाग्नेछ । सम्झौताका शर्तहरु हेर्दा यदि क्यानलाई विदा दिनु उपयुक्त नलागेमा उनीहरुलाई विदा नदिन पनि सक्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *