जापानमा नेपाली खेलाडी ‘हिमाली चितुवा’लाई ऐतिहासिक सफलता
काठमाडौँ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन्।
युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए।
जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँको चन्द्रागिरि नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन् । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए ।
यसैगरी एक खेल बराबरीमा रोकिएको उनको परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिए । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिएका छन् ।
उनले भने, “यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ।” सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता रहेको थियो। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment