भारत बंगलादेशसहित टेस्ट राष्ट्रविरुद्धको इमर्जिङ कपमा पारस नखेल्ने, सन्दिप अनिश्चित

डिसी नेपाल
१८ कार्तिक २०७६ १३:३३

काठमाडौं। नेपालले भारत बंगलादेशसहित टेस्ट राष्ट्रविरुद्ध इमर्जिङ एसिया कपमा खेल्ने अवसर पाएको भए पनि यो खेलमा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नखेल्ने भएका छन् । टिमका स्टार बलर सन्दिप लामिछाने पनि यो खेल खेल्ने वा नखेल्ने टुंगो छैन । सन्दिपले पनि यो प्रतियोगितामा खेल्न चाहेका छैनन् ।

पारस र सन्दिप दुवैले नोभेम्बर १९ देखि सुरु हुने अबुधावी टि–टेन लिग खेल्नको लागि भन्दै इमर्जिङ कप नखेल्ने गरी राष्ट्रिय टिमबाट विदा माग्दै क्यानमा निवेदन दिएका छन् । क्यान उच्च स्रोतका अनुसार पारसलाई क्यानले यसका लागि नो अब्जेक्सन लेटर दिने भएको छ । तर, सन्दिपले निवेदन दिन ढिलाइ गरेका कारण उनको विषयमा निर्णय हुन बाँकी नै छ । क्यानले उनलाई पनि एनओसी दिने निर्णय गरेमा उनी पनि इमर्जिङ कप खेल्ने छैनन् ।

इमर्जिङ एसिया कप १४ नोभेम्बरमा सुरु हुँदैछ । पहिले नेपाल यो प्रतियोगितामा थिएन तर प्रतियोगितामा भएको टिम युनाइटेड अरब इमिरेट्स नखेल्ने भएपछि नेपालले उसको स्थानमा मौका पाएको हो । अब युएइको ठाउँमा नेपालले यो प्रतियोगिता खेल्नेछ । बंगलादेशमा हुने यो प्रतियोगितामा नेपालले पहिलो खेल भारतको अण्डर २३ टिमसँग १४ नोभेम्बरमा खेल्नेछ ।

नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले १८ नोभेम्बरमा बंगलादेशको अण्डर २३ टिमसँग खेल्नेछ । समूह चरणको खेलबाट माथि जान सकेमा नेपालले श्रीलंका, पाकिस्तान, अफगानिस्तानजस्ता अन्य टेस्ट मान्यता प्राप्त देशका अण्डर २३ टिमसँग समेत खेल्न पाउने सम्भावना रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *