आइपिएलमा नयाँ नियम लागू गर्ने तयारी, यसले तत्कालै उल्ट्याउन सक्छ खेलको नतिजा

डिसी नेपाल
१८ कार्तिक २०७६ १७:४२

काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) संसारकै सबैभन्दा ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा ठूलो परिवर्तन गर्ने तयारीमा छ । बोर्डले लिगको अर्को सिजनमा ‘पावर प्लेयर’ नियम ल्याउने तयारीमा छ । यो नियमअनुसार खेलमा कुनै पनि बेला विकेट झरेपछि वा ओभर सकिएपछि खेलाडी बदल्न सकिनेछ ।

बीसीसीआइका एक बरिष्ठ अधिकारीको हवाला दिँदै आज तकले लेखेअनुसार यो विचारले मन्जुरी पाइसकेको छ तर यसमा मंगलबार मुम्बइस्थित बीसीसीआइ मुख्यालयमा हुने आइपिएलको गभर्निङ काउन्सिलको बैठकमा विस्तृत चर्चा हुनेछ ।

अधिकारीले भने ‘हामी यस्तो स्थितिमा विचार गरिरहेका छौं जहाँ टिमलाई अन्तिम ११ को सट्टा १५ खेलाडी छान्नु परोस् र एक खेलाडीलाई खेलको क्रममा कुनै पनि बेला विकेट झरेपछि वा ओभर सकिएपछि बदल्न सकियोस् । हामी यसलाई आइपिएलमा ल्याउने सोचिरहेका छौं तर आगामी सैयद मुस्ताक अली ट्रफीमा यसलाई लागू गर्न सही हुनेछ ।’

अधिकारीका अनुसार यो नियमले खेलको नतिजा बदल्न सक्छ र दुवै टिमको लागि केही फरक सोच्ने र रणनीति बनाउने कुरालाई बढावा दिन्छ । अधिकारीले भने ‘सोच्नुस् कि तपाइँलाई ६ बलमा २० रन चाहिएको छ र आन्द्रे रसेल बाहिर बसेका छन् किनकि उनी पूरै फिट छैनन् र अन्तिम ११ मा थिएनन् । तर अब यो नियमबाट उनी यस्तो स्थितिमा मैदानमा आउन सक्छन् र ठूला सट लगाएर खेल बदल्न सक्छन् ।’

उनले अगाडि भने ‘यस्तै गरी यदि तपाइँलाई अन्तिम ओभरमा ६ रन बचाउनु छ र तपाइँको टिममा जसप्रित बुमराहजस्ता खेलाडी डगआउटमा बसेका छन् भने कप्तानले के गर्छन् ? उनी बुमराहलाई १९ औं ओभर सकिएपछि २० औं ओभर बलिङको लागि ल्याउनेछन् । यो नियममा खेल बदल्ने दम छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *