पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छः राष्ट्रपति भण्डारी

डिसी नेपाल
१८ कार्तिक २०७६ २२:०३

काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

सम्मेलनलाई भिडियो सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक सामाजिक रुपान्तरणमा पोषणको ठूलो महत्व रहेको बताइन्।

राष्ट्रपति भण्डारीले नेपालले बहुक्षेत्रीय षोषण कार्ययोजना कार्यान्वयन गरिरहेको उल्लेख गर्दै आमा र बालबालिकालाई पोषिलो खाना उपलब्ध गराउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

आमाको गर्भ सुरक्षित हुँदा मात्र युगको सुरक्षा हुने भन्दै उनले भनिन्, “पोषणमा लगानी बढाए मात्र दिगो विकासको लक्ष्य हासिल हुन सक्छ ।”

सम्मेलनको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र आइभरीकोष्टका उपराष्ट्रपति ड्यानियल डंकलले संयुक्तरुपमा उद्घाटन गरेका थिए। सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दिगो विकास लक्ष्यले तय गरेको पोषणको मात्रालाई पूरा गर्न सरकारले विशेष कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताए ।

आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीको’ सङ्कल्पसहित काम गरिरहेको उल्लेख गर्दै सामाजिक कारणले पनि महिला बालबालिका कुपोषित भइरहेको बताए।

उपप्रधानमन्त्री पोखरेलले गरीबी निवारण कार्यक्रममार्फत पोषण र खाद्य सुरक्षाका कार्यक्रम अगाडि बढाइएको तथा कृषिमा आधुनिकीकरण गरी खाद्य सुरक्षामा जोड दिइएको बताउँदै खाद्य सुरक्षा र पोषणलाई नेपालको संविधानलेसमेत मौलिक हकका रुपमा सुरक्षित गरेको जानकारी गराए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सन् २०२२ सम्म विकासशील देशमा नेपाललाई रुपान्तरण गर्ने लक्ष्यसहित काम भइरहेको बताउँदै पोषण र खाद्य सुरक्षाका लागि सातै प्रदेशमा कार्यक्रम कार्यान्वयन भइरहेको छ भने। उनले प्रजनन उमेरका महिला तथा बालबालिकालाई एकीकृत गरेर साझा कार्यक्रमका साथ सरकार लागिपरेको बताए।

‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरु भएको सो चारदिने अन्तरराष्ट्रिय सम्मेलन दक्षिण एशियामा नै नेपालमा पहिलोपटक आयोजना भएको हो । हरेक दुई वर्षको अन्तरालमा यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलन हुने गर्दछ । सम्मेलनलाई कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले उच्च महत्वका साथ लिएका छन् ।

सम्मेलनमा भाग लिन विभिन्न देशका उच्च व्यक्तित्व आइतबार काठमाडौँ आइपुगेका थिए । राष्ट्रिय योजना आयोगद्वारा संयोजन गरिएको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका एक हजार २०० प्रतिनिधिको सहभागिता छ । उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी विज्ञहरू सो सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनको पहिलो दिन आज बिहानदेखि पोषणसम्बन्धी सेवाको विस्तार (स्केलिङ अफ न्युट्रिसन) अभियानमा आबद्ध देश, अन्तराराष्ट्रिय दातृ निकाय तथा संयुक्त राष्ट्र सङ्घीय निकायका उच्च नेतृत्वका बीचमा सम्मेलनको तयारी बैठक सम्पन्न भयो ।

सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोगले जनाएको छ । पोषणसँग सम्बन्धित क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, महिला, बालबालिका तथा समाजकल्याणलगायतका विषयमा २५ अलगअलग कार्यशाला सम्मेलनका क्रममा हुने जनाइएको छ ।

साथै सहभागी देशले पोषणका क्षेत्रमा गरेका उपलब्धि र कुपोषण न्यूनीकरणका लागि आगामी रणनीतिका बारेमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

साथै कुपोषण न्यूनीकरणका गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल गर्दै सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ । यसैगरी आगामी सम्मेलनको स्थानसमेत यो सम्मेलनले तोक्ने छ । नेपाल स्केलिङ अफ न्युट्रिसन अभियानको सक्रिय सदस्य देश हो । यो अभियानको सुरुआतदेखि नेपालले यो सम्मेलनमा भाग लिँदै आएको छ ।

सो अभियानको पहिलो सम्मेलन २०१३ मा अमेरिकाको न्यूयोर्क, दोस्रो सन् २०१४ मा इटलीको रोम, सन् २०१५ इटलीकै मिलान र सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएका थिए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *