विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले निश्चित प्रतिशत बजेट छुट्याउँछौं : मन्त्री श्रेष्ठ

डिसी नेपाल
२० वैशाख २०८१ ६:५०

धुलिखेल। बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आगामी आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले बजेट छुट्याउने बताएका छन्।

बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा बनेको बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म(वेश) को नवनिर्मित भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले एउटा मन्त्रालयले मात्रै विपद् व्यवस्थापन तथा न्युनिकरण गर्न सम्भव नभएकोले आगामी आ.व. २०८१/०८२ को बजेटमा सबै मन्त्रालयहरुले निश्चित प्रतिशत रकम विपद् व्यवस्थापनका लागि छुट्याउने बताए।

उनले विपद् व्यवस्थापन गर्नु तिनै तहको सरकार र सबै नागरिकको दायित्व भएकोले सबैले आ-आफ्नो भुमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए।

विपद्को विषय संघ, प्रदेश र स्थानीय तिनै तहको सरकारले हेर्ने गरेपनि आपसमा समन्वय हुन नसक्दा विपद्को बेलामा समयमै उद्दार गर्न नसकिने गरेको उनले बताए। उनले विपद् व्यवस्थापन तथा न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका बिचमा आपसी समन्वय हुनुपर्ने बताए।

मन्त्री श्रेष्ठले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा विपद् व्यवस्थापनको सम्वन्धमा नयाँ नीति बनाएर सोही अनुरुपको कार्यक्रम अघि सार्ने बताए।

उनले विपद् परेको बेलामा नेपाल प्रहरीको भुमिका प्रशंसनीय रहने गरेको उल्लेख गर्दै प्रहरी नागरिकमैत्री र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए। उनले विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई कार्यान्वयन गर्नका लागि प्रदेश सरकार लागिरहेको पनि जानकारी दिए।

मन्त्री श्रेष्ठले विपद्बाट बच्नका लागि सुरक्षा संस्कृतिको निर्माण गर्नुपर्ने बताए। उनले मानिसकै कारणबाट विपद् निम्तिने गरेको भन्दै आफ्नो भुमिका र जिम्मेवारीप्रति सबै सचेत हुनुपर्ने बताए।

बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म(वेश)को नवनिर्मित भवन बागमती प्रदेश सरकारको २ करोड ८ लाख १३ हजार ८३१ रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *