अंग्रेजी भाषाको उपन्यास ‘फ्रम डस्ट टू ड्रिफ्ट’ सार्वजनिक

डिसी नेपाल
२१ असोज २०८३ २२:२९

काठमाडौं । अंग्रेजी भाषामा लेखिएको उपन्यास ‘फ्रम डस्ट टू ड्रिफ्ट’ सार्वजनिक भएको छ। लेखक पेशल ओलीद्वारा लिखित उक्त उपन्यास बुधबार काठमाडौंको उमोजा क्याफेमा विमोचन गरिएको हो। कवि विप्लव प्रतीक, अध्येता सुल्ताना बानु, नारायणप्रसाद चुडाल र प्रकाशक ऋषिराम अधिकारीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तकबारे बोल्दै लेखक ओलीले संघर्षमा उभिएको युवाको सपना र त्यसका लागि गरिने प्रयासलाई कथामा उतारेको बताए। आफ्नो पहिलो प्रयासका रूपमा लेखिएको पुस्तकमा आफूले इमानदार प्रयास गरेको उनको भनाइ थियो। अध्येता चुडालले सामान्य युवाले यति सशक्त कथा कसरी लेख्न सके भन्ने जिज्ञासा आफूमा जागेको बताए। युवाले देखेको सपना साकार पार्न गरेको संघर्षलाई सिर्जनशील र पठनीय ढंगले प्रस्तुत गरिएकाले पुस्तक प्रेरणादायी रहेको उनले बताए।

त्यस्तै, अध्येता सुल्ताना बानुले पुस्तकमा सपना र संघर्षको कथासँगै हिमाली भेगको सामाजिक तथा आर्थिक जीवनको यथार्थ चित्रण गरिएको बताइन्। पाठकसँग संवाद गर्ने शैली सुन्दर रहेको उल्लेख गर्दै उनले लेखकको पहिलो कृतिमै सिर्जनशीलता देखिएको भन्दै प्रशंसा गरिन्। यो पुस्तक बालबालिका र युवा पुस्ताका लागि समेत उपयोगी हुने उनको भनाइ थियो।

पुस्तकका सम्पादकसमेत रहेका कवि विप्लव प्रतीकले पुस्तकको कथाले आफूलाई छोएकाले सम्पादन गर्न इच्छुक भएको बताए। पुस्तक अंग्रेजी भाषामा प्रकाशित भएकाले नेपालीमा समेत अनुवाद गरी नेपाली भाषाका पाठकमाझ पुर्‍याउनुपर्ने उनले बताए। यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले पुस्तकको कथा, भाषा र शैलीका कारण यसलाई चलचित्रमा रूपान्तरण गर्न प्रस्तावसमेत आएको बताए। उक्त प्रस्तावले आफूलाई थप हौसला मिलेको उल्लेख गर्दै उनले नवपुस्ताका लेखकलाई सिर्जनशील लेखनमा जुट्न र यात्रा पब्लिसिङ हाउसलाई सम्झिन आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *