निष्ट एलपिएल क्रिकेट : लिटिल बुद्ध र सरस्वती नमुना विजयी

डिसी नेपाल
१९ कार्तिक २०७६ २०:०१

काठमाडौं । यहाँ जारी ‘निष्ट एलपिएल क्रिकेट प्रतियोगिता’अन्तर्गत आज भएको खेलमा लिटिल बुद्धले त्रिनगर माविलाई ९६ रनले पराजित गरेको छ । जीतसँगै लिटिल बुद्ध क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सङ्घीय प्रहरी कार्यालय धनगढीको खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनायो । लिटिल बुद्धका लागि सन्तोष भट्टले ५४ बलमा ९४ रन बनाए । विशाल ऐरले अविजित २९ रन बनाए । बलिङतर्फ त्रिनगरका लागि अमित परियारले दुई विकेट लिए ।

एक ६६ रनको विजय लक्ष्य पछ्याएको त्रिनगर १७ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै ६९ रनमा समेटियो । त्रिनगरका लागि सिर्जन कुँवरले १२ तथा हिक्मत सेट्टीले ११ रन बनाए । बलिङतर्फ लिटिल बुद्धका लागि निराजन गौतमले पाँच विकेट तथा सन्तोष भट्टले तीन विकेट लिए । उनी ‘म्यान अफ द म्याच’ भए ।

आज भएको अर्को खेलमा सरस्वती नमुना मावि विजयी भयो । उसले शारदा विद्या निकेतनलाई १५ रनले पराजित गरेको हो । सरस्वती भने प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर ब्याटिङ गरेको सरस्वतीले २० ओभरमा सवै विकेट गुमाउँदै १६५ रन बनायो ।

उसका लागि सन्तोष चन्दले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै हृदय बिडारीले ४८ तथा विनोद खत्रीले २४ रन बनाए । बलिङतर्फ शारदाका लागि नरेन सावदले तीन र सुरेन्द्र पन्तले दुई विकेट लिए ।

एक सय ६६ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा चार विकेटको क्षतिमा १५० रन बनाउन सक्यो । उसका लागि अर्जुन सावदले ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै वीरेन्द्र नाथले ४१ तथा सुरेन्द्र पन्तले २५ रन बनाए । बलिङतर्फ सरस्वतीका लागि हृदय विडारीले दुई तथा सुनिल लोथ्याल र सन्तोष चन्दले एक÷एक विकेट लिए । सरस्वतीका हृदय ‘म्यान अफ द म्याच’ भए ।

आजको खेल हारे पनि शारदा समूह ‘बी’को विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ । यो खेलको नतिजासँगै भक्तपुर निष्ट स्कुल पनि क्वाटरफाइनल पुगेको छ । समूह ‘बी’मा रहेका शारदा, सरस्वती र भक्तपुर निष्टले एक खेलमा जीत र एक खेलमा हारका साथ समान दुई अङ्क पाए पनि रनरेटका आधारमा शारदा समूह ‘बी’ को विजेता र भक्तपुर निष्ट उपविजेता भएर क्वाटरफाइनल प्रवेश गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *