कुवेतसँग खेल्न नेपाली टिम भुटान प्रस्थान

डिसी नेपाल
३० कार्तिक २०७६ २०:२६

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान गरेको छ।

२३ सदस्सीय खेलाडीसहितको नेपाली टिम शनिबार दिउँसो भुटानको थिम्पु प्रस्थान गरेको हो। नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै विदाई गरेको छ। एन्फाका कार्यबाहक अध्यक्ष पंकज नेम्बाङ लगायतले विदाई गरे।

नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्दैछ।

कुवेतसँगको खेलका लागि भुटान जाने टिममा चार खेलाडी परिवर्तन भएका छन्। विमल घर्ति मगर, अन्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ भुटान जान पाएनन्। एन्फाले चारै खेलाडीलाई अनुशासनको कारबाही गरेको छ।

फिफा विश्व कप छनोट अन्तर्गतको नेपालको पहिलो होम खेलको रुपमा रहेको यो खेल यसअघि दशरथ रंगशाला हुने तय भएको थियो। तर, पुनःनिर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो। जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ।

यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्यो।

यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *