नेपालमा लगानी गरेका परियोजनाको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएकाे एडीबीको निश्कर्ष

डिसी नेपाल
४ मंसिर २०७६ १३:५९

काठमाडौं। एशियाली विकास बैंकले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ।

बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समिक्षामा एशियाली विकास बैकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन्।

समीक्षा बैठकमा एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडीबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्न तर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरे।

सरकारले कतिपय परियोजनामा प्रयाप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलर सम्म लगानी गर्ने लक्ष्य पुरा हुन नसकेको उनको बताए। परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताए।

एडीबीले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन। एशियाली विकास बैंकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो।

समीक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडीबीले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतीहरु रहेको र यस्तो समीक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताए। सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशील हुनुपर्नेमा जोड दिए।

उनले लगानी अभिवृद्धिका लागि अर्थमन्त्रालय सधै गम्भिर रहेको समेत बताए।  एडीबीले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ। एडीबीको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ। एडिबिले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *