एनसेलले अब २१ अर्बमात्र कर तिनुपर्ने (पूर्णपाठ सहित)

डिसी नेपाल
५ मंसिर २०७६ १६:४३

काठमाडौं । वैदेशिक र निजी लगानीको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोडमात्र पूँजिगत लाभकर तिनुपर्ने भएको छ। बिहीबार आएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा यस्तो भनिएको हो।

फैसलाको पूर्णपाठमा एनसेलले पूँजीगत लाभकरवापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ कर तिर्नुपर्ने उल्लेख गरिएको छ।

गत वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने जम्मा पूँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ तिरेको र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ बाँकी रहेको भनी पत्राचार गरेको थियो । एनसेल यतिधेरै कर नतिर्ने भन्दै सर्वोच्च पुगेको थियो। एनसेलको रिटमाथि सर्वोच्चले फैसला गर्दै ठूला कर दाता कार्यालयले मुल्यांकन गरेको जति कर तिनुनपर्ने जनाएको थियो। बिहीबार सो फैसलाको पूर्णपाठ आएको हो।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले दावी गरेभन्दा १७ अर्ब ९५ करोड ६७ लाख १३ हजार २ सय ५० रुपैयाँ कम गरेर एनसेलले कर तिनुपर्ने फैसला गरेको हो।

सर्वोच्चले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क खारेज गरिदिएको हो । ठूला करदाता कार्यालयले कुनै आधार र कारण नखुलाई र कुनै विवेचना नगरी लगाएको ५० प्रतिशत शुल्क कानून बमोजिम नदेखिएको सर्वोच्चले फैसलामा उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *